बिर्तामोड( सरकारले झापासहित आठ जिल्लाका प्रहरी प्रमुख फेरवदल गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सकिए लगत्तै प्रहरी प्रधान कार्यालयले आठ जिल्लामा काज सरुवामार्फत नयाँ प्रहरी प्रमुख पठाएको हो ।
झापाको प्रहरी प्रमुखमा दुर्गाराज रेग्मी पठाइएका छन् । रेग्मी अपराध अनुसन्धान शाखा काठमाडौँमा कार्यरत थिए । झापाका प्रहरी प्रमुख विश्वमणि पोखरेललाई मानव स्रोत विकास विभागमा पठाउँदै प्रहरी प्रधान कार्यालयले रेग्मीलाई झापामा खटाएको हो ।
प्रहरी प्रधान कार्यालयले काज सरुवा गर्दा आठ जिल्लाका प्रहरी प्रमुख फेरिएका हुन् । काज सरुवामार्फत कोमल शाह पर्सा, विश्वराज खड्का धनुषा, नरेशराज सुवेदी सर्लाही र राजकुमार सिलवाल सिन्धुली पठाइएका छन् । सन्तोष सिंह राठौर बाँके, योगेन्द्र सिंह थापा सुर्खेत र देबेन्द्रबहादुर पाल कैलालीका प्रहरी प्रमुख भएका छन् ।