नेपाली काँग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाविच प्रतिस्पर्धा हुने भएको छ । दुबै नेताले आज सिंहदबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन ।
देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल र समर्थकमा पूर्णबहादुर खड्का छन भने थापाको प्रस्तावकमा डा. शेखर कोईराला र समर्थनमा महमन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल, उपसभापति धनराज गुरुङ छन ।
मनोनयन दर्तापछि संस्थापन निकट नेताहरुले असहज परिस्थितीमा काँग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवा नै संसदीय दलको नेता बन्नुपर्ने दाबी गरे ।
उम्मेदवारी दर्तापछि महामन्त्री थापाले संसदीय दलको नेताको चुनाव काँग्रेसको भविष्य र अपेक्षासँग जोडिएको भन्दै उम्मेद्वारी फिर्ता दिन सभापति देउवालाई आग्रह गरे ।
त्यस्तै शेखर कोइरालाले मुलुकको स्थायीत्वका लागि आफुले थापालाई सहयोग गरेको बताए । महामन्त्री विश्वप्रकाश शर्माले बदलिएको समय, बदलिएको सोच बमोजिम काँग्रेसलाई रुपान्तरणको दिशा लैजानुपर्ने बताए ।
कांग्रेस संसदीय दलको नेताको लागि बुधबार विहान ८ बजेदेखि १० बजेसम्म मतदान हुँदैछ । संसदीय दलको नेता चयनमा कांग्रेसबाट निर्वाचित भएका ८९ सांसदले भाग लिनेछन । कांग्रेसमा संसदीय दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार हुने व्यवस्था छ ।