बिर्तामोड : झापाको बिर्तामोड २ स्थित चारपानेमा मुख्य कार्यलय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था
नेपालकै सबैभन्दा ठुलो र उत्कृष्ट सहकारी संस्था भएको छ । पुँजी, सदस्य संख्या, सदस्य संरक्षण र समुदायतर्फको चासो लगायतको हिसाबले नेपालकै सबैभन्दा ठुलो र उत्कृष्ट सहकारी संस्था भएको संस्थाका कार्यकारी प्रमुख कार्यकारी महेन्द्रकुमार गिरीले जानकारी दिए ।
संस्थाको २६ औँ वार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गर्न आज शुक्रबार संस्थाको मुख्य कार्यालयको सभाहलमा गरिएको पत्रकार सम्मेलनमा कार्यकारी प्रमुख गिरीले संस्थाले बिषम परिस्थितिका बापजुत पनि आर्थिक वर्ष २०७८÷०७९ मा ४९ करोड ७७ लाख रुपैयाँ नाफा गरेको जानकारी दिए । जसबाट सदस्यलाई लाभांश र संरक्षित पुंजी फिर्ता कोषबाट ३० करोड १५ लाख वितरण गरिनेछ ।
संस्थाले आफ्नो वित्तीय अवस्थालाई अझ मजबुत बनाउने सोचअुनुरुप मिसन–०८८ सम्मको रणनीतिक योजना निर्माण गर्दै एक खर्ब रुपैयाँको वासलात बनाउने लक्ष्य तय गरेको समेत जनाइएको छ ।
असार मसान्तसम्म संस्थाको ७९ वटा सेवा केन्द्रमा १ लाख ५९ हजार ७७८ जना शेयर सदस्यहरु संस्थामा आबद्ध छन् ।
त्यस्तै, संस्थाको शेयर पुंजी १ अर्ब ६३ करोड १६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष १ अर्ब ११ करोड ११ लाख रुपैयाँको रहेको छ ।
०७९ असार मसान्तसम्म संस्थाको वासलात १५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।
अन्य कोष ४४ करोड ७१ लाख, बचत ९ अर्ब २५ करोड ३६ लाख, लगानीमा रहिरहेको ऋण १३ अर्ब, भौतिक सम्पत्ती ४१ करोड १६ लाख र बाह्य ऋण १ अर्ब ७२ करोड रहेको प्रतिवेदनमा उल्लेख छ ।
विश्व बजारमा परेको आर्थिक मन्दी र नेपालका बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव भइरहेको जटिल परिस्थितिमा पनि संस्थाले सहज ऋण लगानी र सदस्यहरुको बचतको पूर्ण सुरक्षा प्रदान गर्दै आएको बताए ।
संस्थाले विगतका सदस्य केन्द्रित कार्यक्रमहरुलाई निरन्तरता दिँदै केही नया थप कार्यक्रमहरु विश्वस्तरमा सञ्जाल निर्माण गर्ने, रोजगार शाखा स्थापना गरी रोजगारी सिर्जनामा पहल, सामाजिक व्यवसाय सञ्चालन र अति विपन्न गरिबलाई माथि ल्याउन पहल जस्ता कार्यक्रम प्रस्ताव गरेको छ ।
संस्थाले यस वर्ष आन्तरिक व्यवस्थापन र गुणस्तरीय सेवालाई मजबुत बनाउने हिसाबले कार्यक्रम अघि सारिएको छ ।
संस्थाले प्रविधिमैत्री सेवालाई प्राथमिकता दिँदै एटिएम, ट्याबलेट, मोबाइल एप्स सेवा, क्युआर कोड र एसएमएस बैंकिङ सेवा सञ्चालनमा ल्याइसकेको छ । संस्थालाई अझै बलियो बनाउन यस वर्ष पनि एकीकरण प्रक्रियालाई निरन्तरता दिइने गिरीले बताए ।
संस्थाले चालु आर्थिक वर्षभित्र ८९ सेवा केन्द्र, १ लाख ७५ हजार सदस्य र १७ अर्बको वासालात बनाउंदै ६२ करोड नाफा कमाउने प्रक्षेपण गरेको समेत संस्थाले जनाएको छ ।
संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा महिला उपाध्यक्ष पवित्रा सुब्बाले स्वागत गरेकी थिइन् ।
संस्थाका उपनिर्देशक दिनेशबहादुर निरौलाले सञ्चालन गरेको कार्यक्रममा सहारा शिक्षा सदनका २६ जना विद्यार्थीहरुले प्रतिवेदन सार्वजनिक गरेका थिए ।