झापाको बिर्तामोड २ मा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसको २६ औं बार्षिक साधारणसभा तथा अन्तिम माइन्युट प्रमाणिकरण भेला सम्पन्न भएको छ । 

संस्थाको सभाहलमा आज शनिबार साधारणसभा तथा अन्तिम माइन्युट प्रमाणिकरण भेला सम्पन्न भएको हो ।  संस्थाका अध्यक्ष हरी राजवंशीले पानसमा बत्ती बालेर तथा रिबिन काटेर कार्यक्रमको उद्धघाटन गरेका थिए । 

३१ जना इकाइगत साधारणसभाबाट आएका प्रतिनिधिले अन्तिम माइन्युट प्रमाणिकरण गरेको संस्थाका निर्देशक लक्ष्मण खतिवडाले जानकारी दिए ।  

कार्यक्रममा संस्थाका उप–निर्देशक दिनेशबहादुर निरौलाले माइन्युट पढिबाची गरेर सहि छाप गराएका थिए ।  कार्यक्रममा संस्थाका

कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले इकाइगत साधारणसभाबाट आएका सुझाब सहितको परिमार्जित कार्यक्रम तथा संस्थाको गतिविधि र भावि योजनाको बारेमा प्रकाश पारेका थिए । 

साथै उनले सहारा साकोस नेपालकै सबैभन्दा ठुलो र उत्कृष्ट सहकारी संस्था भएको पनि जानकारी दिए । 

पुँजी, सदस्य संख्या, सदस्य संरक्षण र समुदायतर्फको चासो लगायतको हिसाबले नेपालकै सबैभन्दा ठुलो र उत्कृष्ट सहकारी संस्था भएको उनले बताए । 

संस्थाको शेयर पुंजी १ अर्ब ६३ करोड १६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष १ अर्ब ११ करोड ११ लाख रुपैयाँको रहेको छ । 

०७९ असार मसान्तसम्म संस्थाको वासलात १५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । अन्य कोष ४४ करोड ७१ लाख, बचत ९ अर्ब २५ करोड ३६ लाख, लगानीमा रहिरहेको ऋण १३ अर्ब, भौतिक सम्पत्ती ४१ करोड १६ लाख र बाह्य ऋण १ अर्ब ७२ करोड रहेको पनि कार्यकारी प्रमुख गिरीले बताए । 

संस्थाले यस वर्ष आन्तरिक व्यवस्थापन र गुणस्तरीय सेवालाई मजबुत बनाउने हिसाबले कार्यक्रम अघि बढाएको समेत जनाएको छ ।  संस्थाले प्रविधिमैत्री सेवालाई प्राथमिकता दिँदै एटिएम, ट्याबलेट, मोबाइल एप्स सेवा, क्युआर कोड र एसएमएस बैंकिङ सेवा सञ्चालनमा ल्याइसकेको छ ।

संस्थाले अर्थिक वर्ष २०७८÷०७९ मा ४९ करोड ७७ लाख रुपैयाँ नाफा गरेको छ ।  संस्थाका कोषाध्यक्ष डम्बरबहादुर देउजाले सञ्चालन गरेको कार्यक्रममा स्वागत संस्थाका बरिष्ठ उपाध्यक्ष  हरिप्रसाद निरौलाले गरेका थिए ।