राष्ट्रिय स्वतन्त्र पार्टीबाट पहिलो पटक संसद प्रवेश गरेकी इन्दिरा राना मगरले निर्वाचित गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन् ।
मंसिर ४ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभाकालागि समानुपातिक तर्फबाट उम्मेद्वार बनेकी मगरले झापा क्षेत्र नम्बर २ का मतदातालाई नयाँ जिम्मेवारी प्रदान गरेको भन्दै आभार सहित धन्यवाद दिएकी हुन् ।
सांसद मगर वर्षौदेखि सामाजिक जीवन विताइरहेकी छिन् । सयौं बालबालिकाको आमा बनेकी मगर सामाजिक अभियान्ता हुन् । उनी बेसहारा बालबालिकाको हेरचाह देखि मानवअधिकारको क्षेत्रमा काम गर्दै आएकी छन् ।
जेल जीवन विताइरहेका अभिभावकका सन्तानको हेरचार, शिक्षा, स्वास्थ्यको रेखदेख गर्दै आएकी उनले अब प्रतिनिधिसभाबाट बालअधिकार, बेसहारा बालबालिकाको सवाल र महिला अधिकारका बारे सशक्त आवाज उठाउने शनिबार आयोजित पत्रकार भेघाटमा जानकारी दिइन ।
राज्यले अशक्त, पूर्णअशक्त नागरिकहरुका लागि विशेष योजना अघि सारेर काम गर्नुपर्ने धारणा ब्यक्त गरिन् । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका झापा अध्यक्ष उमेश खरेलले छोटो समयमा नै पार्टीले जनताको मत जित्न सफल भएको बताउंदै अब मन जित्ने गरी काम गर्ने बताए । कार्यक्रमको सहजिकरण संचारकर्मी रञ्जित परियारले गरेका थिए ।