मेचीनगर :  झापाको मेचिनगर पालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतले कार्यालयमा काम गर्ने समय भन्दा बढी काज बिदामा जाने गरेको पाइएको छ । 

गत असोज १ गतेदेखि  नगरपालिकाको कार्यालय सम्हाल्न  प्रमुख प्रशासकीय अधिकृतका रूपमा काठमाडौंबाट झापा आएका राजकपुर चौलागाईंले कार्यालयमा काम गर्नुभन्दा बढी समय काज बिदामा जाने गरेको पाइएको हो ।

प्रमुख प्रशासकीय अधिकृत चौलागाईंले मेचीनगर कार्यालयमा आएको तीन चार महिनामा काज बिदा बस्दै उनले तलब बाहेक यातायात खर्च मात्रै १ लाख बढी रकम बुझेको नगरपालिका स्रोतले जनाएको छ । चौलागाईं मंगलबारदेखि अहिले पनि चारदिने काज बिदा लिएर बसेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत बारम्बार बिदामा बस्दा कार्यालयबाट समयमा नै कार्यसम्पादन भइसकेका योजनालगायतका कार्यको चेक हस्ताक्षरमा समस्या हुनेगरेको जनगुनासो छ ।

कार्यालयमा भन्दा बढी काज बिदामा बस्ने गरेपछि नगरपालिकाको कार्यसम्पादनमा असर पर्नुका साथै नगरका सेवाग्राहीहरूले समयमा सेवा पाउनबाट बन्चित हुनुपरिरहेको गुनासो गरेका छन् ।