झापा : जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख दुर्गाराज रेग्मीले आफ्नो कार्यकालमा दवाव र प्रभावमा नपरी सेवाग्राहीको भावना अनुसार काम गरेर आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अपराध अनुसन्धान काठमाण्डौंबाट हालै सरूवा भइ  झापा प्रहरीको नेतृत्व सम्हाल्न आइपुगेका एसपी रेग्मीले सञ्चारकर्मीहरूसित कुरा गर्दै आवाजविहिनका आवाज सुन्ने कसैको आग्रह वा पूर्वाग्रहमा नपरी पेशागत जिम्मेवारी सहि तबरले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

रेग्मी झापामा प्रहरी निरीक्षक, नायव उपरीक्षक र उपरीक्षक गरी तेस्रो पटक कार्य स्थलमा खटिएका हुन् । उनले खुल्ला सिमानाका कारण हुने चोरी, तस्करी तथा लागु औषध कारोवार जस्ता आपराधिक कार्य नियन्त्रण तथा पछिल्लो समय आत्महत्याका घटनामा भइरहेको  बृद्धि रोक्न पनि विशेष कदम चाल्ने उद्घोष गरेका छन् । 

ख्ुल्ला सीमा कारण हुन सक्ने सम्भावित घटनाका बिषयमा आफ् जानकार रहेको र त्यसलाई रोक्न आफ्नो मातहतको प्रहरी इकाइ खटाइने उनले जनाएका छन् ।  उपरीक्षक रेग्मीले सेवाग्राहीका समस्या सुन्न झापा प्रहरीका सवै युनिटलाई व्यवस्थित बनाउँदै आवाज नहुनेका बोली सुनेर न्यायको वातावरण समेत निर्माण गर्ने बताएका छन् ।