झापा : जिल्ला खेलकुद विकास समिति झापाले खेलाडी तथा प्रशिक्षकलाई नगदसहित प्रमाणपत्रद्धारा सम्मान गरेको छ । बिहीबार झापाको चन्द्रगढीस्थित मेची रंगशालाको कर्भड हलमा खेलकुद विकास समितिल सम्मान गरेको हो ।
नवौं राष्ट्रिय खेलकुद २०७९ गण्डकीमा पदक प्राप्त गर्ने १६ जना खेलाडी तथा प्रशिक्षकलाई समितिका अध्यक्ष प्रशान्त भण्डारी, कार्यक्रममा प्रमुख अतिथि प्रदेश खेलकुद विकास बोर्ड १ नम्बर प्रदेशका सदस्य सचिव हंशराज वाग्ले, नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेशका अध्यक्ष टिकाराज ढकाल, भद्रपुर झापा गोल्ड कपका अध्यक्ष दिपेश ढकाल लगायतले
नगदसहित सम्मान गरेका थिए । झापाका दुई खेलाडीले स्वर्ण पदक प्राप्त गरेका थिए । बक्सिङ महिला खेलाडी तृषा जवेगू र आईटीएफ तेक्वान्दो खेलाडी रोशन मगरले स्वर्ण पदक प्राप्त गरेका थिए ।
उनीहरुलाई जनही नगद १० हजार रुपैयाँ, प्रमाणपत्र र ट्रयाकसुट प्रदान गरिएको थियो । रजत पदक प्राप्त गर्ने सात खेलाडीलाई जनही नगद पाँच हजार र कास्य पदक प्राप्त गर्ने सात खेलाडीलाई जनही नगद तीन हजार रुपैयाँ नगद, प्रमाणपत्र र ट्रयाकसुट प्रदान गरिएको थियो ।
कार्यक्रमकै अवसरमा जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष शंकर थापाले व्याक्तिगत रुपमा पदकधारी खेलाडीलाई प्रोत्साहनस्वरुप नगद प्रदान गरेका थिए ।