मेचीनगर: मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरपालिकाभित्र कर्मचारीतन्त्र हावी हुँदा जनताले दुःख पाएको भन्दै अब ती कर्मचारीलाई आवश्यक कार्वाही गरिने बताएका छन् । उनले केही जब्बर कर्मचारीले जनताको काम गर्न अवरोध गर्दा मेचीनगरमा जनताको अपेक्षा अनुरुप काम गर्न समस्या सृर्जना भएको बताए ।
शुक्रबार काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको २७ औं वार्षिक साधारण सभाको उदघाटन सभामा बोल्दै नगरप्रमुख बुढाथोकीले केही जब्बर कर्मचारीका कारण नागरिकले सहजरुपमा सेवा प्राप्त गर्न नपाइरहेको बताए । उनले अब आफ्नो स्वार्थका लागि जनताको काम नगर्ने विभिन्न बहानामा काममा अवरोध गर्दै दुःख दिने कर्मचारीको दिन गएको बताए ।
सरकारी तलब खाने अनि जनताको काम नगर्ने नगरका केही जब्बर कर्मचारीले जनप्रतिनिधिलाई समेत नटेर्ने, विकास निर्माण, योजना, लेखा लगायतका काममा आलटाल गर्ने गरिरहेको भन्दै अब ती कर्मचारी नसुध्रिए कारवाही गर्ने बताए ।