बिर्तामोड ः बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपधोक्ता संस्थाको विधान संशोधन भएको छ ।  आज सम्पन्न संस्थाको २० औं साधारणसभाले विधान संशोधन गर्ने निर्णय गरेको हो ।

बिर्तामोड खानेपानीमा अध्यक्ष बन्नका लागि एक कार्यकाल अनिवार्य कार्यसमितिमा रहनुपर्ने बाध्यकारी व्यवस्थाको विरोध हुदै आएको थियो । 

साधारणसभाले अध्यक्षमा निर्वाचित हुन एक कार्यकाल कार्यसमितिमा रहनुपर्ने बाध्यकारी व्यवस्था हटाउने भएको छ । 

यस्तै, अध्यक्ष दुई कार्यकालभन्दा बढी रहन नपाउने व्यवस्था पनि विधान संशोधन गरेर हटाइएको छ ।  उपभोक्ताले चाहेमा जो सुकै उपभोक्ता निर्वाचित गर्न सक्ने गरी साधारणसभाले निर्णय गरेको हो ।

सार्वजनिक संस्थामा केहि व्यक्तिहरुले बनाएको आफु अनुकुल विधान समयसापेक्ष संशोधन हुनुपर्ने सदस्यहरुको माग थियो । सोही माग अुनसार प्रस्ताव गरिएको संशोधन पारित भएको अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । 

‘सदस्यहरुको माग जायज थियो’, अध्यक्ष गुरुङले भन्नुभयो, ‘सामाजिक क्षेत्रमा वर्षौदेखि योगदान गरिरहेको व्यक्ति खानेपानीमा सेवा गर्न इच्छुक हुँदा एक कार्यकाल सदस्यमा बस्नु भन्न उपयुक्त थिएन । खानेपानी जस्तो संवेदनशील क्षेत्रको सेवामा इच्छुक जो कोहीलाई विधानले बाटो सहज बनाउनैपर्छ ।’

अब जिल्ला प्रशासन कार्यालयबाट विधान शंसोधन स्वीकृत गराउनु पर्ने कानुनी व्यवस्था छ । विधान संशोधन हुने भएपछि कतिपयले खानेपानीमा पनि लोकतन्त्रको अनुभूति भएको प्रतिक्रिया दिएका छन् ।