अर्जुनधारा : अर्जुनधाराका नगरपालिकाका नगर प्रमुख बलदेव सिंह गोम्देनले सहकारीहरुले कृषिको उत्पादन र बजारीकरणमा ध्यान दिन आवश्यक रहेको बताएका छन् । उनले नगर भित्रका कृषकहरुको स्तरोन्नति बढाउन र विचौलियाबाट ठगिने कार्यको अन्त्य गर्न अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्थालाई आग्रह गरेका छन् । 

आज शनिबार संस्थाको प्रथम साधारणसभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै  नगर प्रमुख गोम्देनले विचौलियबाट कृषक तथा  उपभोक्ता मारमा परेको बताउंदै त्यसको अन्त्य नभएसम्म कृषकहरुको जिवनस्तर  नउक्सिने बताए । उनले कृषिमा देखिएको बिचौलियको अन्त्य आवश्यक रहेको बताए । 

संस्थाले नगरका कृषकका लागि व्यावसायिक खेती प्रविधिमैत्री बनाउनमा नगरले पनि सहयोग गर्ने उनले जानकारी दिए । 

संस्थाका अध्यक्ष प्रत्युष आजाद रानाको सभापतित्वमा भएको कार्यक्रममा स्वागत सदस्य देवकला प्रसाईले गरेकी थिइन् । उद्घाटन समयमै अध्यक्ष रानाले संस्थाको प्रतिवेदन वाचन गर्दै काम, कर्तव्य र अधिकारका विषयमा प्रस्ट्याएका थिए । उनले संस्थाका चुनौति र अवसरको विषयमा मसिनो रुपमा प्रतिवेदन पेश गरेका थिए । सुरुमा ५१५ जना शेयर सदस्य रहेता पनि यसको विकास र कार्य क्षमतालाई मूल्याङ्कन गर्दै ८६२ जना शेयर सदस्य पुगेको बताउँदै सम्भावनाका प्रशस्तै माध्यम भए पनि पूँजीको अभावका कारण भनेजस्तो नतिजा ल्याउन नसकेको नगर प्रमुखसमक्ष भनाइ राखेका थिए ।

प्रस्तुत प्रतिवेदनमा शेयर सदस्यका लागि सहकारी एवम् अगुवा कृषकका लागि अभिमुखिकरण तालिम, धानको मूल तथा उन्नत विउ, विजन खरिद र वितरण, वडा इकाई स्तरमा तदर्थ समिति गठन र परिचालन, पकेट कार्यक्रम सञ्चालन, पशुपन्छी विमा कार्यक्रम, कृषि प्राविधिक सेवा तथा वाली संरक्षण कार्यक्रम सञ्चालन भएको उल्लेख गरिएको छ ।

त्यसैगरी संस्था सञ्चालन गर्न आवश्यक पर्ने कार्यविधिको निर्माण, कृषि उपकरणको खरिद र व्यवस्थापन, कृषि उत्पादन वृद्धिका लागि आवश्यक पर्ने मल खादको व्यवस्थापन, निक्षेप संकलन तथा शेयर सदस्य विस्तारको लागि कर्मचारी परिचालनलगायतको कार्यक्रम सञ्चालन गरेको छ ।

जम्मा शेयर पूँजी ३४ लाख २९ हजार आठ सय रहेको संस्थाले गत आर्थिक वर्षको जम्मा आम्दानी ६० लाख १४ हजार एक सय ८६ रुपैयाँ छ पैसा रहेको छ ।

अर्जुनधारा कृषि क्षेत्रको उर्भर भूमिसँगै जलाशय भएको पनि नगर भएकाले संस्थागत ढंगबाट कृषिमा लगानी गर्न सके कृषकहरुको स्तरोन्नतिसँगै कृषिमा औद्योगिककरणको विकास हुने उनको भनाइ थियो । उपाध्यक्ष छत्र पौडेलले सञ्चालन गरेको कार्यक्रममा लेखा समितिका संयोजक विनोद आचार्यले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति हेमराज खरेल, माओवादीका नारद दुःखी, ७ नम्बर वडाध्यक्ष गोविन्द खतिवडा, एमालेबाट एकदेव खनाल, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईलगायतले साधारणसभाको कार्यक्रमप्रति सकारात्मक सुझाव राख्दै किसानको हितमा अगाडि बढ्न शुभकामना दिएका थिए ।