बिर्तामोड  : झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको  २२ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

गत मंसिर २१ गतेदेखि पुस १७ गतेसम्म सात वटा इकागत साधारणसभाबाट शुरु भएको संस्थाको आज अन्तिम माइन्युटर प्रमाणिकरण भेलासँगै साधारणसभा सम्पन्न भएको हो । 

संस्थाका अध्यक्ष टसबहादुर प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाकी प्रमुख पबित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । 

यस आर्थिक बर्षमा संस्थाले १० करोड ७ लाख ४८ हजार ४२० रुपैयाँ ५२ पैसा नाफा कमाउन सफल भएको संस्थका अध्यक्ष  प्रधानले बताए ।  

संस्थाका कोषाध्यक्ष एकराज बिष्टले स्वागत गरेको कार्यक्रममा सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराई, इलाका प्रहरी कार्यालय  बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवर, बिर्तामोड–४ का वडाध्यक्ष राहुल शर्मा, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख अशोककुमार जवेगु, जिल्ला सहकारी संघ झापाका सचिव भवानीप्रसाद दंगाल, राष्ट्रिय सहकारी वैंक बिर्तामोड शाखाका प्रमुख विवेक डाँगीलगायतले शुभकामना मनतब्य राखेका थिए । 

आर्थिक बर्ष २०७८÷०७९ सम्ममा संस्थको सक्रिय शेयर सदस्य ४७ हजार ४ सय ५७ जना र  शेयर पुँजी ४३ करोड ७४ लाख ४ हजार १०० रुपैयाँ रहेको अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।  

संस्थाको बचत मौज्यात १ अर्व ८७ करोड २६ लाख ८३ हजार ९३० रुपैयाँ, लगानीमा रहेको ३ अर्व ४६ करोड ७९ लाख ४० हजार १२३ रुपैयाँ, जगेडा कोष १० करोड ७८ लाख ८८ हजार ४०२ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । 

त्यस्तै संस्थामा स्थिर सम्पत्ति  १२ करोड ७५ लाख १३ हजार ११३ रुपैयाँ रहेको जनाइएको छ । 

संस्थाको झापा, इलाम र मोरङ गरी तीनवटा जिल्लाका  ३९ वटा सेवा केन्द्रबाट सेवा प्रवाह हुंदै आएको छ ।  कार्यक्रमको सञ्चालन संस्थाका सचिव भूपाल बस्नेतले गरेका थिए ।