बुट्टाबारी : विश्व जागरण महाअभियान ट्रसका संरक्षक धर्म गुरु इश्वरी कृष्ण महाराजको जन्मदिनको अवसरमा विपन्न  तथा अशक्त नागरिकलाई जाडोको न्यानो कपडा वितरण गरिएको छ । 

आज मङ्लबार स्वच्छ समाजकालागि सामाजिक अभियानको समन्वयमा सडक पेटीमा बसोबास गर्ने, अपाङ्, अशक्त तथा विपन्न १ सय १ जनालाई जाडोको कपडा ज्याकेट वितरण गरिएको अभियानका अध्यक्ष गणेश ढुङ्गानाले बताए । 

साथै अभियानको कार्यालय पनि उद्धघाटन गरिएको छ । बुट्टाबारी स्थित स्टाप चोक अर्जुनधारामा स्वच्छ समाजकालागि सामाजिक अभियानको कार्यालय खोलिएको हो । कार्यालयको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेव सिंह गोम्देनले गरेका हुन् । 

मेयर गोम्देनले उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवा नै मानवताको सबै भन्दा ठुलो धर्म भएको बताउंदै धन हुनेहरुले दिनदुःखी र असाहयलाई  सहयोग गरी पुन्य कमाउन आग्रह समेत गरे । 

त्यस्तै अभियानका उपाध्यक्ष समाजसेवी शेरबहादुर थापाले कोभिडको बिषम  परिस्थिति सहित समाजमा रहेका अशक्त, गरिब र असाहयलाई धेरै समयदेखि अभियान मार्फत सहयोग प्रदान गरिंदै आएको बताए । साथै उनले अभियानले फ्यांकिएका फोहोर संकलन गरेर अपाङग बालबालिकाकालागी सहयोग गर्ने हेतुले काम गर्दै आएको बताउंदै सामाजिक कार्यमा सबैको हातेमालो आवश्यक भएको बताए । 

अभियानका अध्यक्ष गणेश ढुङगानको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा ११ का वडाध्यक्ष खगेन्द्र इङ्नाम, बिर्तामोड ६ का वडाध्यक्ष सुर्य कन्दङ्वा लगायतले अभियानले गरेको कामको प्रशंसा गर्दै आगामी दिनकालागि शुभकामना ब्यक्त गरेका थिए । 

अभियानका संचार संयोजक रञ्जित परियारले सञ्चालन गरेको कार्यक्रममा कपडा ल्याउनकालागि ट्र्रसका सचिव लक्ष्मण भुर्तेलले सहयोग गरेको जनाइएको छ । 

कार्यक्रममा अभियानका सल्लाहकार, पदाधिकारी सहित अन्य बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागि रहेको थियो । 

साथै सोहि कार्यक्रममा बुट्टाबारीमा रहेको खोटाङ फर्माले निशुल्क स्वास्थ्य परिक्षण तथा औषधि वितरण गरेको थियो । फर्माका सञ्चालक मोसेस खड्काले सहभागिको  स्वास्थ्य परिक्षण सहित औषधि वितरण गरेका थिए ।