अर्जुनधारा M अर्जुनधारा ७ स्थित ज्योती बस्तीमा रहेको सिर्जना बाल युवा क्लबलाई दाताहरुको सहयोगमा शौचालय निर्माण गरिनुका साथै विद्युत् जडान गरिएको छ ।
निमार्ण गरिएको शौचालय आज बिहिबार क्लबलाई हस्तानतरण गरिएको छ ।
सञ्चारकर्मी अमित खम्बूको पहलमा पूर्वाधार निर्माण कार्यक्रम २०७९ अभियान सञ्चालन गरिएको थियो ।
सोहि अभियान मार्फत संकलित रकमबाट शौचालय निमार्ण गरिनुका साथै विद्युत विस्तार गरिएको हो ।
अर्जुनधारा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईको प्रमुख आतिथ्यमा बिहीबार आयोजित
एक अनौपचारिक कार्यक्रममा हिसाब समेत सार्वजनिक गरिनुका साथै निर्मित शौचालय क्लबलाई हस्तानतरण गरिएको छ ।
सञ्चारकर्मी खम्बूको पहलमा दाताहरुबाट प्राप्त १ लाख ८५ हजार बराबरको सहयोगले क्लबमा भौतिक पूर्वाधार निर्माण गरिएको हो ।
अभियानमा दाताहरुले नगद तथा जिन्सी समेत सहयोग गरेका थिए ।
१८ धुर जग्गामा एककोठे भवन निर्माण भए पनि बालबालिकाका लागि शौचालय, पिउने पानी, कुर्सीलगायत अभाव रहेको थियो ।
तर, दाताहरुकै सहयोगमा पिउने पानीका लागि कल जडान गरिएको छ भने दराज, टेबल, कुर्सी पनि खरिद गरिएको क्लबले जनाएको छ ।
२८ जना दाताहरुको नगद तथा जिन्सी सहयोगमा शौचालय, पिउने पानीका लागि कल, विद्युत् मिटर जडान
तथा कुर्सी, टेबल र दराज खरिद गरिएको हिसाब क्लबकी अध्यक्ष तथा अभियानकी सचिव शर्मिला न्यौपानेले सार्वजनिक गरेकी थिइन् ।
क्लबमा आवद्ध बालबालिकाको अतिरिक्त क्रियाकलापमा सहजताका लागि व्यक्तिगत र नगरपालिकाको तर्फबाट पनि सहयोग रहने आश्वासन दिइन् ।
क्लबमा आवद्ध बालबालिकाका लागि सातामा एक दिन बालकक्षा सञ्चालन र विद्यालय जाँदै गरेका
बालबालिकाका लागि हाजिरीजवाफ गराउँदै आएको अध्यक्ष न्यौपानेले बताइन् ।
जिल्ला प्रशासन कार्यालय झापामा २०७३ सालमा दर्ता रहेको यस क्लबमा ५३ जना बालबालिका आवद्ध रहेको क्लबकी अध्यक्ष न्यौपानेले जानकारी दिइन् ।