खुदुनावारी–अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १७औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

समितिको कार्यलय प्राङ्गणमा समितिका अध्यक्ष विष्णुप्रसाद प्रसाईंको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।

सभामा समितिका अध्यक्ष प्रसाईंले संस्थाको गत आर्थिक वर्ष ०७८÷०७९को वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष ओमबहादुर ढकालले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा संस्थाले गत आर्थिक वर्षमा प्राप्त अनुदान ३९ लाख १० हजार एक सय २६ रुपैयाँ ३१ पैसाबाट चार वटा योजना कटहरे तटबन्धन, ओडारे मुहान, सखुवाको फेदमा चार वटा स्पर तटबन्ध निर्माण र गढीमा पाइपलाइन विस्तार गरिएको उल्लेख गरिएको छ ।

त्यसैगरी आन्तरिक आम्दानीबाट कटहरे इन्टेक निर्माण तथा दुई सय मिटर पाइपलाइन विस्तार, जोर सखुवा इन्टेक निर्माण तथा तीन सय मिटर पाइपलाइन विस्तार र भाङबारी मुहान इन्टेक निर्माण तथा तीन सय मिटर पाइपलाइन विस्तार गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै गत आर्थिक वर्षमा ८१ लाख तीन हजार दुई सय ५३ रुपैयाँ २९ पैसा बराबरको आर्थिक कारोबार गरेको संस्थाले चालु आर्थिक वर्ष ०७९÷०८०को लागि अनुमानित एक करोड २१ लाख १७ हजार छ सय २२ रुपैयाँ बराबरको बजेट नीति तथा कार्यक्रम सभामा पेश गरिएको थियो ।

संस्थालाई चालु आर्थिक वर्षमा प्रदेश नं।१ सरकारबाट ३० लाख रुपैयाँ, संघीय सरकारको सशर्त अनुदान अन्र्तगत १२ लाख रुपैयाँ र अर्जुनधारा–१ वडा समितिको कार्यालयबाट दुई लाख रुपैयाँ बजेट विनियोजन भएको संस्थाका कार्यालय सचिव तीवेन्द्र काफ्लेले जानकारी दिए ।

सोही सभामा पूर्व कार्यसमितिका १२ जना पदाधिकारी तथा सदस्यहरुसहित नियमित महसुल बुझाउने पाँच जना उपभोक्तालाई सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा अध्यक्ष वीरबहादुर राई, उपाध्यक्ष मदनकुमार दनुवार, सचिव उपेन्द्र बस्नेत, सहसचिव चन्द्रकला वि।क।, कोषाध्यक्ष रुद्रकुमार श्रेष्ठ र सदस्यहरुमा उषा कडरिया, केशरमणि निरौला, दुर्गा अधिकारी, राजकुमार तामाङ, ललितादेवी अधिकारी बराल, लक्ष्मी फूँयल र लीलामाया ठकुरी थापा रहेका छन् ।

त्यस्तै उपभोक्ताहरुतर्फ जयप्रसाद हुमागाईं, जीतविर राई, दिलकुमार सुवेदी, सोमनाथ रीजाल र हरिप्रसाद सापकोटा रहेका छन् । समितिकी उपाध्यक्ष पूजा तिम्सिना खड्काले स्वागत गरेको उक्त सभाको सञ्चालन सचिव मदनकुमार दनुवारले गरेका थिए ।