बिर्तामोड : झापाको बिर्तामोड स्थित डोमलाल राजवंशी रंगशालामा तेस्रो संस्करणको बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्ट हुने भएको छ । यही माघ १३ देखि १९ गते सम्म प्रदेश १ स्तरीय टुर्नामेन्ट हुने  आयोजक बिर्तामोड भेट्रान्स फुटबल क्लबले आज शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

प्रतियोगितामा १० टिमको सहभागिता रहने क्लबका अध्यक्ष किरण थापाले जानकारी दिए ।  क्लबका अध्यक्ष थापाका अनुसार प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार १११, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५१ हजार १११, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

 योपटक प्रतियोगिताको टाइटल स्पोन्सरमा फास्ट ट्र्याक द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी रहेको पनि उनले जानकारी दिए । 

प्रत्येक खेलको म्यान अफ द म्याचले नगद एक हजार पाँच  प्रतियोगिताभरिको उत्कृष्ट किप्पर, डिफेन्डर, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले नगद दुई हजार १०० पाउने क्लबका कोषाध्यक्ष झलकसिंह राजवंशीले बताए ।

झापा एफसीका अध्यक्ष जलकुमार गुरुङको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले  स्वस्थ जीवन कायम राख्न तथा शारीरिक तन्दुरुस्तीका लागि ढल्किँदो उमेरमा फुटबल खेल्न जरुरी रहेको बताउंदै यस्ता प्रतियोगिता हरेक क्षेत्रमा हुन आवश्यक रहेको बताए । 

कार्यक्रममा क्लबका उपाध्यक्ष गणेश सुब्बा, सदस्यहरु अमिर लामा, भुवन तामाङ, किशोर लिम्बु, कृष्णमगर, विष्णु सुब्बा तथा  मुख्य प्रायोजकका तर्फबाट इन्द्र खनाल लगायतको उपस्थिति रहेको थियो ।