काठमाडौ : उपप्रधान तथा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री राजेन्द्र लिङदेनले सार्वजनिक कार्यक्रममा लामो समय पलेँटी कसेर र उपरखुट्टी लगाएर बस्ने छुट र समय आफूलाई नरहेको बताएका छन ।
आजबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको नेपाल इलेक्ट्रिक्स पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै उनले उद्योग दर्ताका फाइल घुमिराख्ने प्रवृतिको अन्त्य गर्दै एउटै टेबुलबाट सबै काम सक्ने प्रक्रियाको थालनी गर्ने आश्वासन समेत दिए । मन्त्री लिङ्देनले देशभित्रका उद्योगी, व्यापारीहरुलाई ढुक्कसँग लगानी गर्न र विदेशी उद्योगीहरुलाई पनि नेपालमा लगानीमैत्री वातावरण रहेकाले ढुक्कसँग लगानी गर्न आग्रह गरे ।
मन्त्री लिङदेनले विद्युतीय सामग्रीहरुको बढी प्रयोग गरेर विद्युत खपत बढाउनुपर्ने बताए । उनले विद्युतीय सामग्रीको प्रयोग बढाउन सरकारले वातावरण बनाउनुपर्नेमा पनि जोड दिए ।
सरकारमा आफ्नो पार्टी प्रवेश गरेसँगै विभिन्न शंका र उपशंकाहरु गरिएको भन्दै सरकारमा बसेर शंकाहरु चिर्ने प्रद्धिबद्धता समेत मन्त्री लिङ्देनको थियो । प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक सय भन्दा बढी स्टलहरु छन ।