फागुन १९ गतेबाट हुने सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार एन्फा कम्प्लेक्समा ’ए’ डिभिजन लिग अन्तर्गत पाँचौं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको हो । लिगको उद्घाटन खेलमा फागुन १९ गते साढे पाँच बजे नवप्रवेशी क्लब एफसी खुमलटार र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यस पटक खुमलटार र चर्च ब्वाइज युनाईटेडले शीर्ष डिभिजनको लिगमा डेब्यु गर्न लागेका हुन् । नवप्रवेशी चर्च ब्वाइजले पहिलो खेल फागुन २० गते नेपाल पुलिस क्लबसँग खेल्नेछ । साविक विजेता मछिन्द्र फुटबल क्लबले पहिलो खेलमा जावलाखेल युथ क्लबसँग फागुन २१ गते खेल्नेछ ।

लिग डबल राउण्ड रोबिनको आधारमा हुने खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुने एन्फाले जनाएको छ । एन्फाले यसअघिका कमीकमजोरीबाट सिक्दै नेपाली फुटबलको मेरुदण्डको रुपमा रहेको लिगलाई सानदार ढंगले सम्पन्न गर्ने जनाएको छ ।

’ए’ डिभिजन लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । यस्तै मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने एन्फाले जनाएको छ । फेयर प्ले अवार्ड विजेताले ३ लाख पाउने छन् ।