बिर्तामोड : कम्बोडियाको एक क्यासिनोमा आगलागीमा परी ज्यान गुमाएका बिर्तामोड–१ का निराकार पाण्डेको शनिवार (आज) कनकाई माई आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
कम्बोडियाको पोइपेट शहरको ग्राण्ड डायमण्ड सिटी होटल (क्यासिनो) मा गत पुस १५ गते बिहान आगलागीमा परी ज्यान गुमाएका पाण्डेको शव नेपालस्थित निजी निवास बिर्तामोडमा आज बिहान आइपुगेपछि अन्त्येष्टि गरिएको हो ।
निराकारको शव यात्रासहित अन्तिम दाहसंस्कार गरिएको हो । शवयात्रामा हजारौं शुभचिन्तक, आफन्त , साथीभाई, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, बिभिन्न संघ÷संस्थाका प्रमुख तथा प्रतिनिधि सहित हजारौको सहभागीता रहेको थियो ।
मृतक बिर्तामोड १ का वडाध्यक्ष अग्नि पाण्डेका छोरा हुन् । क्यासिनोमा आगलागी हुँदा उक्त होटलको १२ औँ तलाको बसेका पाण्डेले कोठाको झ्यालबाट ज्यान बचाउन हाम फाल्दा ज्यान गएको थियो ।
कम्बोडियामा सरकारी पक्षबाट शवको प्रमाणीकरण नहुँदा शव ल्याउन ढिलाई भएको जनाइएको थियो । छोरा निराकारको शव नेपाल ल्याउन सहयोग गर्ने नेपाल सरकार सहित सबैमा आभारसहित बुबा अग्नि पाण्डेले सामाजिक सञ्जाल मार्फत धन्यबाद समेत ज्ञापन गरेका छन् ।