शिवसताक्षी : झापाको शिवसताक्षी नगरपालिका–८ मा रहेको वाटर किंगडम पार्क एण्ड रिसोर्टमा संस्कृति उत्थान महोत्सवको आयोजना गरिने भएको छ । 

आदिवासी–जनजाति समुदायको सांस्कृति, कला, भेषभूषाको प्रवद्र्धन गर्ने उद्देश्यले फागुन १ गतेदेखि ५ गतेसम्म संस्कृति उत्थान महोत्सव गर्न लागिएको आइतबार पार्क परिसरमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको हो ।  

माँसिदै गएको मौलिक संस्कृतिलाई जर्गेना गर्ने तथा भावी पुस्तालाई यसबारे अबगत गराउन महोत्सव गर्न लागिएको रिसोर्टका सञ्चालक राजकुमार संग्रौलाले जानकारी दिए । 

सञ्चालक संग्रौलाका अनुसार महोत्सवका माध्यमबाट विभिन्न जातीय खानाका परिकार, भेषभूषाको प्रबद्र्धन गरिने छ । 

पर्यटन वर्ष २०२० लाई लक्षित गरी करिब रू ५७ करोड रुपैयाँको लगानीमा रिसोर्ट सञ्चालनमा ल्याइएको भए पनि देशको बिषम परिस्थितिका कारण लागनी नै जोखिमको स्थितीमा भएको सञ्चालक संग्रौलाले बताए । साथै उनले  सोच अनुसारको प्रतिफल नपाइएको बताउंदै आन्तरीक तथा बाह्रय पर्यटकलाई लक्षित गरि खोलिएका यस्ता पर्यटकिय गनतब्यलाई सरकारले प्राथमिकतामा राख्नु पर्ने बताए  । उनले कोभिडका कारण थलिएका यस्ता पर्यटकिय क्षेत्रकालागि सरकारले बैंकको ब्याज लगायतका सुविधा उपलब्ध गराउनु पर्ने धारणा समेत राखेका थिए ।

संस्कृति उत्थान महोत्सव २०७९ मा विशेष आकर्षणका रुपमा अन्तिम दिन नेपालको सर्वाधिक चर्चित सांगीतिक समू १९७४ एडीको सांगीतिक प्रस्तुत रहने रिसोर्टका निर्देशक मेनुका सिटौला संग्रौलाले जानकारी दिइन । 

महोत्सव अवधिभर अलग–अलग जातजातिका मौलिक परिकारहरुको फुड स्टल रहनेछ । जसमा यस भेगमा छरिएर रहेका आदिवासी, जनजातिहरुको मौलिक परिकारहरुको स्वाद लिन सकिनेछ । परम्परागत सामग्री, भेषभुषा, कलाकौशल, पुरातात्विक महत्वका वस्तु, भाषा तथा लिपी, बाजागाजा, हातहतियार आदिको परिचयात्मक प्रर्दशनी महोत्सव अवधिभर रहनेछ भने प्रत्येक दिन फरक–फरक समुदायको सांस्कृतिक नृत्यहरु हुनेछ ।

प्रत्येक साँझ चर्चित स्थानीय तथा राष्ट्रिय कलाकारहरुका साथमा सांगितिक कार्यक्रम हुनेछ भने उक्त सांगितिक कार्यक्रममा कुनै प्रवेश शुल्क लाग्ने छैन । एक लाख मानिसले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान छ ।