बिर्तामोड : झापाको बिर्तामोडमा बडीबिल्डिङ च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ । बिर्तामोडस्थित ग्यालेक्सी फिटनेसको आयोजनामा आउँदो चैत २४ र २५ गते प्रदेश नं. १ स्तरीय तेस्रो मिस्टर ग्यालेक्सी बडीबिल्डिङ च्याम्पियनसिप प्रतियोगिता गर्न लागिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
फिटनेसका सञ्चालक तथा आयोजक समितिका कोषाध्यक्ष चन्द्र राना मगर लाफा अनुसार तेस्रो संस्करणको च्याम्पियन बन्ने खेलाडीले नगद २ लाखसहित ट्रफी प्राप्त गर्नेछ ।
प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७५ केजी गरी विभिन्न ५ वटा तौल समूहमा प्रतिस्पर्धा गराइने छ ।
प्रतियोगिताको उपविजेताले एक लाख २५ हजार, तेश्रोले ७५ हजार, चौथोले ५० हजार, पाँचौंले ३० हजार, वजन समूह अन्तगृत दोश्रोले १० हजार, तेश्रोले पाँच हजार, वेस्ट पोजरले १० हजार, प्राप्त गर्ने साथै सम्पूर्ण विजेता तथा उपविजेताले मेडल, ट्रफि र गिफ्टह्याम्पर प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष दिप साउदेन लिम्बूले जानकारी दिए ।
आयोजकका अनुसार यसअघिको विजेताले नगद १ लाख पाएका थिए । तर अहिले पुरस्कार राशिमा बृद्धि गर्दै २ लाख पुराइएको आयोजकका सचिव केशव श्रेष्ठले जानकारी दिए ।
यसैबीच कार्यक्रममै सुनचाँदी व्यवसायी संघ पाँचथरका अध्यक्ष तथा पाँचथर गहना गृहका सञ्चालक राजेन्द्र कर्माले च्याम्पियन बन्ने खेलाडीको २ लाख पुरस्कार राशि प्रदान गर्ने घोषणा गरेका छन् ।
उनले खेल प्रतिको लगाव र खेलाडीलाई प्रोत्साहन गर्न लागि पुरस्कार दिने घोषणा गरेको जानकारी दिए । आयोजकले कर्मा र उनकी श्रीमती विद्या धमलालाई सम्मान समेत गरेका थिए । प्रतियोगिता सम्पन्न गर्न दिप साउदेन लिम्बूको अध्यक्षतामा आयोजक समिति गठन गरिएको छ ।
कार्यक्रममा आयोजक समितिका संरक्षक सन्दिप शेर्मा, ललित धिमाल, सल्लाहकार रतन लिम्वुलगायतले प्रतियोगिता सफल बनाउन सहयोग गर्न सवैलाई आग्रह गरे ।