कनकाई : नेपाल डेरी एशोशिएसन प्रदेश नम्बर १ ले आफ्नो  बार्षिक साधारणसभा गरेको छ । एशोशिएसनले आज बुधबार झापाको कनकाई नगरपालिका स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र धनुषकोटीधाममा साधारणसभा गरेको हो ।  

प्रदेश नं. १ का कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाको प्रमुख आतिथ्यता तथा नेपाल डेरी एशोशिएसन प्रदेश नम्बर १ का अध्यक्ष गंगाबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत एशोशिएसन प्रदेश  १ का उपाध्यक्ष गुरुप्रसाद दाहालले गरेका थिए । 

कार्यक्रममा कनकाई नगरपालिका मेयर राजेन्द्रकुमार पोखरेल, एशोशिएसनका केन्द्रिय बरिष्ठ उपाध्यक्ष राजन चिमरिया, डेरी उद्योग संघका प्रदेश नम्बर १ अध्यक्ष रामचन्द्र उप्रेती, हिमालयन चीज उत्पादक संघका उपाध्यक्ष महेन्द्र प्रधानलगायतले शुभकामना मन्तव्य राखेका थिए । 

एशोशिएसनका  प्रदेश  १ का सचिव अशेषकुमार बुढाथोकीले सञ्चालन गरेको कार्यक्रममा कृषिमन्त्री सिटौलाले किसान तथा व्यवसायीको समस्याका बिषयमा आफु जानकार भएको बताउंदै दुग्धजन्य व्यवसायमा देखिएका समस्याको पहल गर्न आफु लाग्ने धारणा ब्यक्त गरेका थिए  । 

साधारण सभामा डेरी एशोशिएसनमा आवद्ध ब्यवसायी तथा उद्योगीले आफ्ना ब्यवसाय र उद्योगका समस्या, चुनौती र अवसरका बारेका आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए । एशोशिएसनका बरिष्ठ केन्द्रिय उपाध्यक्ष राजन चिमरियाले प्रदेश नं. १ दूधमा आत्मनिर्भर भएको दाबी गरेका छन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिटौलालले आफु पनि कृषि पेशामा आवद्ध रहि सकेकाले कृषकको समस्या राम्रोसँग बुझेको र त्यसलाई आफ्नो तर्फबाट सकेसम्म सहयोग गर्ने आश्वसन दिए । त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथि तथा कनकाई नगरका नगर प्रमुख पोखरेलले गाई पाल्ने कागजमा मात्र सिमित नरहेर बास्तबिक कृषक हुन जरुरी रहेको बताए । उनले संघीय र प्रदेश सरकारले कृषकलाई दिने अनुदान स्थानीय सरकारसँगको समन्वयमा वितरण गर्नु पर्नेमा जोड दिए ।