झापाको मेचीनगर नगरपालिकामा मेचे समुदायले ६६औं बाथौ शिव धरम माघी पूर्णीमा पर्व पूजा आरधानासहित विविध कार्यक्रम गरी मनाएका छन् ।
नेपालको लोपोन्मुख जातीको सुचिमा रहेको मेचे जातीले माघी पूर्णीमाको अवसर पारेर मा शनिबार र आइतबार दुईदिन माघी पूर्णीमा पर्व मनाएको हो ।
नेपालको ७७ जिल्ला मध्ये झापामा मात्रै बसोबास रहेको लोपोन्मुख जाती मेचे समुदायले प्रत्येक बर्ष माघी पूर्णीमाको अवसरमा मनाउँदै आएको माघी पूर्णीमा पर्व कोरोना भाइरस संक्रमणका कारण बिगत दुई बर्ष मनाउन पाएका थिएनन् ।
तर, अहिले कोरोना संक्रमण दर न्यून रहेका कारण यसबर्ष नेपालसहित भारत र भुटानका मेचे समुदाय एकै ठाउँमा भेला भएर माघी पूर्णीमा पर्व मनाएका छन् ।
झापाको मेचीनगरमा, भद्रपुर, विर्तामोड र कचनकवल लगायतका स्थानीय तहमा बसोबास गर्ने मेचे समुदाय उपस्थित रहेको माघी पूर्णीमा पर्वमा छिमेकी मुलुक भारतको आसाम र बंगाल तथा भुटानबाट पनि मेचे समुदायका मानीसहरुको सहभागीता रहेको थियो ।
त्यस्तै कार्यक्रममा स्थानीय सरकार मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नेपालको लोपोन्मुख जाती मेचे समुदाय मेचीनगरको सम्पत्ती भएको बताएका छन् । उनले समृद्ध समाज निर्माण गर्न असल संस्कार आवश्यक रहेको बताउँदै सबै आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताए ।