बिर्तामोड : स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले झापाको बिर्तामोड–२ मा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था देशकै नमुना सहकारी भएको बताएका छन् ।
कनकाई नगरपालिका स्थित जामुनखाडी सीमसार क्षेत्रमा आज सोमवार सहारा नेपाल साकोसको दशौँ विस्तारित भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री गिरीले सहारा विपन्न तथा अशक्तहरुको अभिभावक भएको बताएका हुन् । उनले सहाराले कृषि, शिक्षा, स्वास्थ्य सहित सामाजिक क्षेत्रमा अतुलनीय काम गरेर गर्व गर्न लायक भएको धारणा राखेका थिए ।
उनले राज्यले गर्न नसकेको काम गरेर सहाराले सबैको मन जितेको बताए । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ का कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले समग्र आर्थिक क्षेत्र समस्यामा हुँदा पनि सहाराले वित्तीय कारोवारसँगै सामाजिक क्षेत्रमा गरेको योगदानको मुल्याङ्कन गर्दै उच्च प्रशंसा गरे । उनले आफु सहारासँग हातेमालो र सहकार्य गर्दै अघि बढ्ने धारणा राखेका थिए ।
साथै संस्थाको दशौं विस्तारित भेलामा संस्थाका सदस्य सचिव तथा कार्यकारी प्रमुख महेन्द्र गिरीले आगामी दश वर्षे रणनीतिक योजना प्रस्तुत गरेका छन् ।
एनले संस्थाले आगामी कार्ययोजनामा मिसन २०८८, सदस्य सुनौ, सदस्य बनौं अभियान, कोष तथा तरलता व्यवस्थापन, आन्तरिक स्रोत बृद्धिका लागि बचतमा प्राथमिकता, ऊर्जा क्षेत्र सहयोग कार्यक्रम, उद्यमशीलता विकास र रोजगारी सिर्जना, सदस्यहरुको स्वास्थ्य सेवामा पहुँच लगायतका १७ वटा बुँदामा संस्थाको कार्यदिशा तय गरेका छन् ।
चालु बर्ष पौष महिना सम्म संस्थाको शेयरपुँजी १ अर्व, ६३ करोड, ४९ लाख ८४ हजार ४०० रुपैयाँ, बचत १० अर्व ५३ करोड २७ लाख २९ हजार १३ रुपैयाँ ५८ पैसा, बाह्य ऋण १ अर्व १६ करोड ७३ लाख ११ हजार ५८० रुपैयाँ २६ पैसा, नाफा २६ करोड ५१ लाख ७६ हजार ८७२ रुपैयाँ ७७ पैसा गरेको जनाएको छ ।
संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाले स्वागत गरेका थिए । पत्रकार महासंघका झापाका उपाध्यक्ष केशव भट्टराईले सञ्चालन गरेको कार्यक्रममा अतिरिक्त क्रियाकलाप अन्तरर्गत हन्डीफोर, चिठ्ठा, म्युजिकल चियर र लठ्ठा तान्ने प्रतियोगिता आयोजना गरिएको थियो ।
साथै केन्द्रका मन्त्री गिरी र प्रदेशका मन्त्री सिटौलालाई सम्मान समेत गरेको थियो । संस्थाका अध्यक्ष राजवंशी र कार्यकारी प्रमुख गिरीले मन्त्रीद्धयलाई सम्मानपत्रद्धारा सम्मान गरेका थिए ।