झापाको बिर्तामोड स्थीत पाँचतारे होटल द किङ्सवरीले क्यासिनो सञ्चालनमा ल्याएको छ । क्यासिनो सञ्चालनमा आएपछि केही मात्रामा भएपनि विदेशीहरु आउन थालेको होटलका सञ्चालक प्रकाश गौतमले बताए । साथै उनले विस्तारै पर्यटकको संख्या बढ्ने विश्वास समेत व्यक्त गरे ।
होटलले पहिलो चरणमा मिनी क्यासिनो सञ्चालनमा ल्याएको सञ्चालक गौतमले बताए ।
उनका अनुसार २५ करोडको लगानी रहेको क्यासिनो ५ सय खेलाडी क्षमताको रहेको छ । तर पुर्ण रुपमा क्यासीनो सञ्चालनमा आउन केहि समय लाग्ने उनले बताए ।
उनले केहि महिना भित्रै नेपालकै सबै भन्दा ठुलो क्षमताको क्यासीनो निमार्ण हुने जानकारी दिए । होटलले १ हजार खेलाडीहरूले एकैसाथ खेल्न सकिने गरिको क्यासिनो सञ्चालनको तयारी तिब्र बनाइरहेको छ ।
क्यासिनोको व्यवस्थापकीय जिम्मा भारतीय व्यवसायीहरूले लिएको जनाइएको छ । नयाँ क्यासिनो सेभेन हर्समा एसियाका चर्चित खेलाडीहरू आउन थालेको सेभेन हर्सका कर्मचारीले बताएका छन् ।
क्यासीनो सञ्चालनमा आएसंगै भारत लगायत देशका पर्यटक हरु होटलमा आउन थालेको र चहलपहल बढेको होटलका व्यवस्थापक विश्वदेव शर्माले बताए ।
क्यासिनो खुले सँगै हाल २ सय ५६ जनाले रोजगारी पाएका छन् भने अर्को क्यासिनो सञ्चालनमा आउँदा थप ५ सय जनाले रोजगारी पाउने होटल सञ्चालक गौतमको भनाई छ ।
मेची अञ्चलकै प्रमुख व्यापारीक शहर तथा भारत तथा चन्द्रगढी बिमान स्थलबाट नजिकैको दुरीमा रहेको होटल द किङ्सबरीमा क्यासिनो सञ्चालनमा आएसंगै यसले यहांको व्यवसायीक क्षेत्रमा पनि ठुलो सघाउ पु¥याउने सरोकारवालाहरुको भनाई छ ।