नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्योगी तथा व्यवसायीको उठाएको समस्या जायज भएको बताएका छन् । झापाको शिवसताक्षी नगरपालिका–८ मा रहेको वाटर किंगडम पार्क एण्ड रिसोर्टमा आज सोमबार संस्कृति उत्थान महोत्सवको उद्धघाटन गर्दै एमाले अध्यक्ष ओलीले बैंकका नीति नियम नियत्रण गर्न आवश्यक रहेको बताएका हुन् ।
बैंक आर्थिक क्रियाकलापकालागि अनिवार्य र अपरिहार्य संस्था भए पनि बैंकले नागरिकको पैसा जम्मा गरेर बैंक भएको उल्लेख गर्दै उनले बैंकले नाफा कमाउनु पर्ने र बैंक डुब्न नहुने तर्क गरे ।
उनले बैंक डुबे धेरै डुब्ने तथा अर्थतन्त्र डुब्ने बताएका हुन् । साथै उनले बैंक नडुब्नकालागि उचित मुनाफा मात्र गर्नु पर्ने बताए । क्रृण लिएर व्यवसायीको ढाड सेक्ने गरी बैंकले चर्को ब्याज असुल्न नहुने बताए । उनले बैंकहरु गम्भिर हुंदै यो समस्यामा बिचार गर्नु पर्ने बताएका हुन् ।
आदिवासी–जनजाति समुदायको सांस्कृति, कला, भेषभूषाको प्रवद्र्धन गर्ने उद्देश्यले आज सोमबार १ गतेदेखि ५ गतेसम्मकालागि आयोजना गरिएको संस्कृति उत्थान महोत्सवमा पार्कका सञ्चालक राजकुमार संग्रौलाले स्वागत सहित कार्यक्रमको औचित्माथि प्रकाश पारेका थिए । माँसिदै गएको मौलिक संस्कृतिलाई जर्गेना गर्ने तथा भावी पुस्तालाई यसबारे अबगत गराउन महोत्सव गर्न लागिएको रिसोर्टका सञ्चालक संग्रौलाले जानकारी दिए ।
उनले दैनिक बिभिन्न सांस्कृतिक कार्यक्रम पनि हुने जानकारी दिए । उनले भोली मङ्लबार पर्यटन, संस्कृति, नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरिएको जानकारी दिए । बुधबार भने प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिने रिर्सोटकी सञ्चालिका मेनुका सिटौला संग्रौलाले जानकारी दिइन ।
साथै उनले महोत्सव अवधिभर अलग–अलग जातजातिका मौलिक परिकारहरुको फुड स्टल रहने जानकारी दिइन् । जसमा यस भेगमा छरिएर रहेका आदिवासी, जनजातिहरुको मौलिक परिकारहरुको स्वाद लिन सकिनेछ । परम्परागत सामग्री, भेषभुषा, कलाकौशल,
पुरातात्विक महत्वका वस्तु, भाषा तथा लिपी, बाजागाजा, हातहतियार आदिको परिचयात्मक प्रर्दशनी महोत्सव अवधिभर रहनेछ भने प्रत्येक दिन फरक–फरक समुदायको सांस्कृतिक नृत्यहरु हुनेछ ।