बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । आगामी फागुन १५ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन शुक्रवार सभामुख देवराज घिमिरेले गर्ने महोत्सव मूल आयोजक समितिले जनाएको छ ।
विहीवार अपरान्ह महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सव मूल आयोजक समिति संयोजक राजु न्यौपानेले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । महोत्सव बिर्तामोड नगरपालिका – २ रामचौकस्थित पूर्वपश्चिम राजर्मागको उत्तरमा सञ्चालन हुँदैछ ।
सभामुख घिमिरेसंगै उपसभामुख इन्दिरा राना मगर, झापा क्षेत्र नम्वर २ का सांसद्, जिल्ला स्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, व्यवसायी तथा स्थानीयको उपस्थितिमा महोत्सव उद्घाटन हुने बताइएको छ । महोत्सव ११ दिनसम्म सञ्चालन हुने छ ।
प्रदेश १ कृषि , पर्यटन एवम् औद्योगिक दृष्टिकोणले समेत सुगम स्थल रहेको र यहाँको उत्पादनलाई भारत लगायतका विभिन्न मुलुकमा निर्यातका लागि पहिचान गराउने उद्देश्यले महोत्सवमा प्रर्दशनी गरिने संघका अध्यक्ष प्रकाश शिवाकोटीले जानकारी दिए ।
महोत्सवमा २०० सय वटा स्टल रहने छन् । महोत्सवमा अन्तराष्ट्रिय औद्योगिक उपकरण , कृषि तथा जडिबुटी, पर्यटन, दैनिक उपभोग्य वस्तुहरु, हस्तकला तथा तयारी पोशाक, प्रर्दशनमा रहने बताइएको छ । महोत्सवमा बंगलादेश, पाकिस्तान र भारतका व्यवसायीहरुको समेत सहभागीता रहने बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव अर्जुन मैनालीले जानकारी दिए ।
महोत्सवले कृषि र पर्यटनका साथै औद्योगिक क्षेत्रमा आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने र झण्डै ४५ करोड रुपैयाँ बरावरको आर्थिक कारोवहर हुने अपेक्षा गरिएको महोत्सव मूल आयोजक समितिले जनाएको छ ,
पत्रकार सम्मेलनको सञ्चालन बिर्तामोड उद्योग वाणिज्य संघका सचिव कुशल खतिवडाले गरेका थिए ।