क्रिकेटर सन्दीप लामिछाने विश्वकप लिग–२ अन्तर्गतको श्रृंखलाका लागि युएई जान नपाउने भएका छन् । श्रृंखलाका लागि खेल्न पाउँ भनि लामिछानले बिहीबार सर्वोच्चमा दिएको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश इश्वर खतिवडाको इजलासले विदेश जान नपाउने उच्च अदालतको आदेशलाई यथावत राखेको हो ।

साथै इजलासले महान्यायाधीवक्ता र लामिछानेको निवेदन एकसाथ राखेर आउँदो आईतबार पेशी तोक्न आदेश समेत दिएको छ । सोमबारबाट सुरु हुने विश्वकप लिग टूअन्तर्गतको त्रिदेशीय श्रृंखलामा नेपालले यूएई र पपुवा न्यु गिनीसँग दुई–दुई खेल खेल्दैछ । त्यसका लागि नेपाली टोली शनिबार दुबई जाँदैछ ।

नेपालले यसैसाता स्कटल्यान्ड र नामिबियासँग लिग–२ मा सबै चार खेल जितेको थियो । लामिछानले नेपालबाट सर्वाधिक १३ विकेट लिएका थिए । बलात्कार आरोप लागेका लामिछानेलाई २० लाख रुपैयाँमा धरौटीमा छाड्ने आदेशसँगै उच्च अदालतले विदेश जान रोक लगाएको थियो ।