काठमाडौं । बालुवाटारमा बसेको ८ दलको बैठकमा राष्ट्रपति कांग्रेसलाई दिने सहमति जुटेको छ।  शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ दलको बैठकमा कांग्रेसलाई राष्ट्रपति दिने सहमति जुटेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले संसदको ठूलो दल कांग्रेसबाट राष्ट्रपति बनाउन भनेर प्रस्ताव गरेको एकीकृत समाजवादीका उपमहासचिव एवं सांसद सांसद प्रकाश ज्वालाले जानकारी दिए ।

उनले भने, ‘८ दलको बैठकमा कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको छ । पात्रको बारेमा निर्णय भएको छैन । उम्मेदवार को बनाउने भन्ने कांग्रेस पार्टीले निर्णय गर्छ ।’

प्रधानमन्त्रीको भनाइलाई उद्धृत गर्दै उनले भने, ‘आजबाट हाम्रो नयाँ राजनीतिक यात्रा सुरु भएको छ । यसलाई अगाडि बढाऔँ । सबै दल मिलेर जाऔँ । स्थायित्वका लागि काम गरौं । र सत्ता समीकरणमा पनि एकताबद्ध भएर अगाडि बढौँ, भन्नुभयो ।’

आजको बैठकमा उपराष्ट्रपति र पावर सेयरिङको विषयमा कुनै निर्णय नभएको उनको भनाइ थियो । यो सहमतिसँगै पुस १० गते बनेको संत्तारुढ गठबन्धन ६२ दिनमै भत्किने भएको छ । kantipurtv.com bata