बिर्तामोड   : प्रतिभा भएर पनि ठाउंको अभावमा उजागर गर्न नसकेका हरुको खोजी गर्दै उनीहरुको क्षमता प्रस्फुटन गर्ने उदेश्यले 

 नेपालमै पहिलो पटक झापा युटुव स्टार २०२२ सञ्चालनमा ल्याइने भएको छ ।  झापा बिर्तामोड ३ स्थित बिर्ताबजारमा रहेको गज्जवको इन्टरटेन्मेन्ट प्रालिले आज सोमबार कार्यालयमा पत्रकार भेटघाट मार्फत यहि फागुन २३ र २४ गते पब्लिक राउण्डको कार्यक्रम गर्न लागेको जानकारी दिएको हो । 

प्रा.लि.ले युट्युव प्लेटफर्ममार्फत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रतिभा खोजी गर्ने जनाएको हो ।  गत असोज महिनाबाट प्रतियोगिताका लागि अडिसन राउण्ड शुरु गरिएको इन्टरटेन्मेन्टका प्रबन्धक दिप श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रतियोगिताका लागि फागुन ३० गतेसम्म भिडिओ प्रतियोगिता रहने छ । 

कार्यक्रममा झापा जिल्लाभारका ३ सय प्रतिभाहरुले सहभागिता जनाउने बताउँदै उनले प्रतियोगितामा नृत्य, गायन, अभिनय साथै विभिन्न किसिमका १५ विधामा कलात्मक प्रस्तुतिलाई समावेश गराइने बताए ।

झापाको ९ वटा पालिकाबाट प्रतियोगी सहभागी हुने प्रालिका प्रवन्ध निर्देशक सुस्मिता गुरुङले बताइन् । अर्जुनधारा, बिर्तामोड, दमक, भद्रपुर, मेचीनगरलगायत पालिकाका प्रतियोगी सहभागी रहेका छन् । दुई दिनसम्म सञ्चालन हुने पब्लिक राउण्डमा राष्ट्रिय कलाकारको समेत प्रस्तुति रहने बताइएको छ ।