सन्तोष न्यौपाने : झापा
जग्गा अधिग्रहण गरेको लामो समय बिती सक्दा पनि मुआब्जा नपाएको भन्दै झापा भद्रपुर नगरपालिका–५ का स्थानीय आन्दोलित बनेका छन् । भन्सार कार्यालयले जग्गा अधिग्रहण गरेर पनि मुआब्जा वितरणमा आलटाल गरेको भन्दै उनीहरु सङ्घर्ष समिति गठन गरेर भन्सार गेटमै धर्ना दिएर बसेका छन् ।।
जग्गा अधिग्रहण गरेको ४ बर्ष बिती सक्दा पनि मुआब्जा नपाएपछि झापा भद्रपुर नगरपालिका–५ का स्थानीय सङ्घर्षमा उत्रिएका हुन् । भद्रपुर भन्सार कार्यालयले जग्गा अधिग्रहण गरेर पनि मुआब्जा वितरणमा आलटाल गरेको भन्दै उनीहरु सङ्घर्ष समिति गठन गरेर एक सातादेखि भन्सार गेटमै धर्ना दिएर बसेका हुन् ।
मुआब्जा पीडितहरू आन्दोलित बनेसँगै भन्सार कार्यालयको राजश्व संकलन सहित दैनिक कामकाज समेत प्रभावित बनेको छ । लामो समयदेखि नम्बरी जग्गा सरकारले रोक्का राखेको र हालसम्म मुआब्जा नदिँदा आफुहरु मारमा परेको भन्दै दबाबकालागि आन्दोलित बनेको स्थानीयको भनाई छ ।
यता मुआब्जा पीडितहरूसँग छलफल गरी भन्सारमा लगाइएको ताला खुलाइएको र मुआब्जा वितरणको रकम मन्त्रालयबाट स्वीकृत नहुँदा समस्या भइरहेको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए ।
भद्रपुर भन्सारको विस्तारसँगै नयाँ भौतिक संरचना निर्माणका लागि भद्रपुर– ५ स्थित स्थानीयको नम्बरी जग्गा (साढे ८ बिगाहा) भन्सारले अधिग्रहण गर्न लागेको छ । मुआब्जा बापत स्थानीयलाई ६० करोड रकम सरकारले दिनुपर्ने छ । मुआब्जा वितरण सम्बन्धी
भन्सारको सबै कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रशासन कार्यालय झापाले जमिनको मुआब्जा तथा घर टहराको क्षतिपूर्ति बापत दिनुपर्ने १०९ वटा कित्ताको रकम तोकेर गत पुस ६ गते १५ दिने सूचना निकालेको थियो । सूचना निकालेको डेढ महिना बित्न लाग्दा समेत सम्बन्धित पक्षले जग्गाधनीहरूलाई रकम उपलब्ध नगराएपछि उनीहरू यस पटक दबाबमूलक रूपमै आन्दोलनमा उत्रिएका हुन् ।।