नेकपा एमालेले  अनुशासनको कारवाही गरेपछि   जिल्ला कमिटी उपसचिव चन्द्रमाया श्रेष्ठले पार्टी परित्याग गरेको खुलासा भएको छ । गत स्थानीय , प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा श्रेष्ठले अन्तर्घात गरेको आरोप पुष्टि भइसकेपछि उनलाई कारवाही गरिएको नेकपा एमालेका अध्यक्ष दिपक कार्कीले बताए । 

भद्रपुर नगरपालिकाको पूर्व उपप्रमुख समेत रहेकी श्रेष्ठले भने बिभिन्न कारणहरु देखाउंदै शुक्रबार पत्रकार सम्मेलन गर्दै पार्टी परित्याग घोषणा गरेकी थिइन । 

विगत ३२ वर्षदेखि एमालेमा आवद्ध श्रेष्ठले पार्टीप्रति विभिन्न १८ वटा असहमति जाहेर गर्दै पार्टीबाट अलग रहने निर्णय गर्न बाध्य भएको बताएकी थिइन । 

तर उनलाई दुई दिन अघि नै साधारण सदस्यसमेत नरहनेगरी दुई वर्षका लागि निष्काशनको कारवाही गरिएको पाटीले जनाएको छ । 

उनले कारवाही फुकुवाकालागि पाटीलाई आग्रह गरेकी थिइन । तर कारवाही फुकुवा नभएपछि उनले पाटी छाडेकी हुन् । उनी गत स्थानीयतहमा मेयर पदको आंकाक्षी रहेकी श्रेष्ठले टिकट पाइनन् । उनले एमालेबाट मेयर पदको उम्मेदवार बनेका असारु राजंवशी , प्रदेश सभाका उम्मेदवार बनेका बसन्त बांनिया सहित प्रतिनिधिसभाको निर्वाचनमा अन्तरघात गरेर आफ्ना मान्छे हराएको भन्दै कारवाहीकालागि सिफारिस गरिएको थियो । 

   उनीसंगै प्रदेश कमिटी सदस्य पदम थापा , ३ नं क्षेत्रीय सदस्य सज्जाद आलम र हवालोदिन मियाले पनि एमाले परित्याग गरेको घोष्णा गरेका छन् ।  

त्यस्तै गत निर्वाचनमा अन्तर्घात गर्ने भद्रपुर नगरका पूर्व मेयर  तथा प्रदेश कमिटी सदस्य जीवन श्रेष्ठलाई पनि कारवाहीकालागि  सिफारिस गरिएको पनि जिल्ला अध्यक्ष कार्कीले बताए । 

श्रेष्ठ प्रदेश कमिटी सदस्य भएकाले कारवाहीका लागि जिल्ला कमिटीले प्रदेश कमिटीलाई सिफारिस गरेको अध्यक्ष कार्कीको भनाई छ । साथै उनले निर्वाचनमा अन्तर्घात गर्ने अन्यलाई पनि कारवाही गरिने जनाएका छन् ।