बिर्तामोड :  झापामा उपलब्ध कराते संघहरुले सितेरियो कराते प्रशिक्षक जगन कार्की दुवार्साको अध्यक्षतामा झापा जिल्ला कराते महासंघ सर्वसम्मत रुपमा गठन गरेको छ । कार्की झापा जिल्ला खेलकुद विकास समितिका सदस्य तथा प्रवक्ता हुन् ।

झापामा करातेअन्तर्गत सितेरियो, वादोकाइ र वादरियोका छुट्टाछुट्टै संघ थिए । केन्द्रमा राष्ट्रिय खेलकुद परिषदले सबै संघ विघटन गरी नेपाल कराते महासंघ बनाएपछि जिल्लामा पनि संघहरु मिलेर महासंघ निर्माण गरिएको हो ।

आज बिर्तामोडमा झापा जिल्ला खेलकुद विकास समितिले एक कार्यक्रमको आयोजना गरी नवगठित झापा जिल्ला कराते महासंघमा पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ ।

नवगठित महासंघ झापाको उपाध्यक्षमा सञ्जीत मोहोली, सचिवमा सञ्जय शाह, कोषाध्यक्षमा रेनुका राई र सहसचिवमा जीवन राई चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा वादोरियोबाट दुर्गाचरण राजवंशी, वादोकाइबाट विकास गौतम चयन भएका छन् ।

अन्य सदस्यहरु सितेरियोबाट हरि बस्नेत, राम पाठक, आशिष राई, राजेन्द्र लिम्बू, एलिजा घिमिरे र विक्रम मेचे चयन भएका छन् ।

त्यस्तै, झापाको प्रतिनिधित्व गर्दै महासंघ कोसी प्रदेशको उपाध्यक्षमा वरिष्ठ प्रशिक्षक शौरभ प्रधान र सदस्यमा रनेका राई निर्वाचित भएका छन् । कोसी प्रदेशको प्रतिनिधित्व गर्दै झापाका प्रशिक्षक मिलनराज प्रसाईं केन्द्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् ।

समिति अध्यक्ष प्रशान्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा करातेका पूर्वखेलाडी तथा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले युवाहरुलाई लागुऔषधबाट टाढा राख्न खेलकुदका गतिविधिमा प्रोत्साहन गर्नुपर्ने बताए ।

कराते प्रशिक्षक दुर्गाराज निरौलाले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ कराते प्रशिक्षक कालु मेचे लगायतले शुभकामना व्यक्त गरेका थिए ।