पहिचानको आन्दोलनलाई ससक्त बनाउन ६ वटा  पार्टी  बीच एकता भएको छ । झापाको बिर्तामोडमा आज शनिबार भएको छलफलपछि पूर्वमा आन्दोलनरत ६ वटा पहिचानवादी पार्टी  बीच एकता भएको हो । 

राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल, कोचिला संघर्ष समिति, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, लिम्बुवान राष्ट्रिय समिति लोसपा र किराँत लिम्बुवान प्रदेश नामाङकन अभियानबीच पार्टी एकीकरण भएको जनाइएको छ ।  

राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाको संयोजकत्वमा छ वटा पहिचानवादी पार्टीहरुबीच एकता भएको संघीय लिम्बुवान पार्टी नेपालका कोषाध्यक्ष एलबी पालुङ्वाले जानकारी दिए । उनका अनुसार एकीकृत पार्टीको नाम, झण्डा, ब्यानरका बिषयमा कार्यदलले निर्धारण गर्ने सहमति भएको छ । 

एकीकृत पार्टीले बिचार, सिद्वान्त र मुद्दा मिल्ने दलहरुसँग एकताका लागि राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशब सुर्यबंशीको सयोजकत्वमा वार्ता समिति गठन गर्ने जनाइएको छ  । एकताको सम्पूर्ण प्रक्रिया पूरा गरि आगामी ६ महिनाभित्र एकता महाधिवेशन गर्ने निर्णय भएको छ । 

सम्पूर्ण शोषित–पीतिडका पक्षमा संघर्ष गर्ने गरी एकता गरिएको संघीय लिम्बूवान पार्टीका अध्यक्ष सञ्जुहाङ पालुङ्वाले बताए ,। 

कोचिला संघर्ष समितिका संयोजक त्रिनारायण राजवंशीले पहिचानवादीहरुको अस्तित्व मेटाउने गरी ठूला राजनीतिक दल लागिपरेको आरोप लगाए । 

त्यस्तै, लिम्बूवान राष्ट्रिय समिति, लोसपाका अध्यक्ष भक्त खेवाङले पहिचानवादीको पक्षमा राज्य नरहेको आरोप लगाए । 

छ पार्टी बीच एकताका लागि सात बुँदे सहमति भएको छ । नेपालको औपनिवेशिक एकात्मक एकल जातीय राज्य संरचनाको अन्त्य गरी नेपालको ऐतिहासिक जातीय पहिचानको आधारमा स्वायत्त राज्य स्वायत्त क्षेत्र, विषेश क्षेत्र संरक्षित क्षेत्र एवं गैर–मौगोलिक स्वायत्तता एवम् स्वशासन सहितको संघीय लोकतान्त्रिक बहुल राष्ट्र राज्य नेपाल स्थापना गर्न, राज्यको हरेक अङ्गहरुमा जातीय जनसंख्याको

आधारमा समानुपातिक, समावेशी र सहभागीतामुलक प्रतिनिधित्व एवम् पूर्ण समानुपातिक निर्वाचन प्रणालीको सिद्धान्त लागू गर्ने, नेपाली समाजको आमूल रुपान्तरण गर्न स्वदेशवाद, बहुलराष्ट्रवाद बहजातीय, सामुदायिक समाजवादको मार्गनिर्देशक सिद्धान्त एवम् विचार अंगीकार गर्दै नयाँ इन्द्रेणी समाज निर्माण गर्ने सहमति भएको छ ।

त्यस्तै, कोशी प्रदेश नामांकन खारेज गर्दै प्रदेश नं. १ को पुनः नामांकनका लागि सशक्त आन्दोलन गर्ने जनाइएको छ ।