राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले उपराष्ट्रपति निर्वाचनमा पनि मतदान नगर्ने निर्णय गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनमा पनि मतदान नगर्ने निर्णय गरेको हो । यसअघि २५ फागुनमा भएको राष्ट्रपति निर्वाचनमा पनि राप्रपाले मतदान गरेको थिएन ।

राप्रपाले रासायनिक मलमा दिएको अनुदान कटौती गर्ने सरकारको निर्णय अदूरदर्शी, अमानवीय र अनुचित भएको ठहर फिर्ता लिन माग गरेको छ । साथै राप्रपाले सुलभ ढंगले मल आपूर्तिको व्यवस्था मिलाउन र देशभित्रै मल कारखाना स्थापना अघि बढाउन पनि सरकारलाई आग्रह गरेकोछ ।

राप्रपाले बैंक तथा वित्तीय संस्थाहरुले ऋणीसँग उठाइरहेको ब्याजदर तत्काल नियन्त्रण गर्न, अस्वाभाविक रुपमा बढेको ब्याज घटाउन र देशको वित्तीय सन्तुलन कायम गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।