सरकारले रासायनिक मल खरिदमा कृषकलाई दिँदै आएको अनुदान घाटाएको भन्दै झापाको बिर्तामोडमा किसान तथा किसान पक्षधरहरुले प्रर्दशन गरेका छन् । सरकारले दिँदै आएको अनुदान भारी मात्राले कटौती गर्ने निर्णय गरेसँगै किसान तथा किसान पक्षधरहरुले बिर्तामोड स्थित मुक्तिचोकमा आज शुक्रबार प्रदर्शन गरेका हुन् ।
कृषि मन्त्रालयले फागुन २६ गते रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो । सरकारले अनुदान कटौती गरेर किसानको उत्पादलाई घटाउने काम गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कमिटी झापाको आवहानमा बिर्तामोडमा किसान सहितका ब्यक्तिहरुले पर्दशन गरेका हुन् ।
बालीनाली लगाउने मुख्य सिजनमा मल अभाव हुंदा बर्षेनी किसानले समस्या भोग्नु परेको र सरकारको पछिल्लो कार्यले किसान झनै ठुलो मारमा परेको भन्दै सांकेतिक रुपमा बिरोध पर्दशन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी झापाका सभापति उमेश खरेलले जानकारी दिए । यो पाटीगत समस्या नभइ सम्पूर्णको साझा समस्या भएको भन्दै हातमा राष्ट्रिय झण्डा बोकेर प्रदर्शनमा उत्रिएको उनले बताए ।
बिरोध र्यालीमा रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाउने निणर्य फिर्ता गर, किसानलाई समयमै मलखाद उपलब्ध गर, किसानको आँसुमा पौडी नखेल, बिना ब्याज बिना धितो कृषी ऋण उपलब्ध गरा लगायतका नारा सहितका प्ले कार्ड प्रदर्शन गर्दै नारा जुलुस गरिएको थियो । प्रदर्शनमा किसान तथा किसानपक्षधरले बोरा ओढेर तथा मकैको बोट बोकेर सहभागिता जनाएका थिए ।
प्रदर्शनपछि मुक्तिचोकमा भएको कोणसभामा पार्टीका झापा सभापति खरेल , राजनीतिज्ञ तथा अभियान्ता शम्भु सुस्केरा ढकाल, पार्टीका जिल्ला सहसंयोजक प्रकाश पाठक र सुरेश कुमार पोखरेल लगायतले सम्बोधन गरेका थिए ।
यसअघि समग्रमा ७० दशमलब आठ दुई प्रतिशत अनुदान रहेकोमा अब समग्रमा ५९ दशमलब शून्य ४ प्रतिशत कायम भएको छ । योसँगै खेती गर्न किसानलाई नभई नहुने रासायनिक मलको भाउ बढ्नेछ । अनुदान कटौतीपछि आयातविन्दुमा युरिया प्रतिकिलो २५, डिएपी ५० र पोटास ४० रुपैयाँ पर्नेछ ।
यसअघि आयातविन्दुमा युरिया प्रतिकिलो १४, डिएपी ४३ र पोटास ३१ रुपैयाँ थियो । कृषिविज्ञहरु सरकारको यो निर्णयले उत्पादकत्व घटाएर परनिर्भरता झन् बढाउने राष्ट्रिय स्वतन्त्र पार्टी झापाका सभापति खरेल बताउँछन् ।