काठमाण्डौ  : कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ । कोशी प्रदेश नामकरणको विरोधमा दैनिक प्रदर्शन हुन थालेपछि जिल्ला प्रशासन कार्यालय, मोरङले सूचना निकालेर भोलि बिहान ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जारी गरेको  सूचनामा सुरक्षा जोखिमलाई ध्यानमा राखेर निषेधाज्ञा लागू गरिएको उल्लेख छ । 

गएको फागुन १७ गते बसेको प्रदेश सभाको बैठकले कोशी नामकरण गरेको थियो । त्यसपछि कोशी नामकरणमा असहमति जनाउने विभिन्न समूह तथा पक्षले धर्ना, जुलुस प्रदर्शन गर्दै आएका छन् ।


विशेषगरी प्रदेश १ को नाम किराँत हुनुपर्ने माग गर्दै आएकाहरुले दैनिक प्रदर्शन गरिरहेका छन् । प्रदर्शन भइरहँदा शान्ति सुरक्षामा असर पर्ने भएकाले निषेधाज्ञा जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी भट्टराईले सूचनामा उल्लेख गरेका छन् । 


सूचनामा चैत ५ गते बिहान ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि तोकिएको क्षेत्रमा सर्वसाधारण तथा गाडी आवत जावतबाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, ¥याली जस्ता कार्यहरू गर्न निषेध गरिएको उल्लेख छ । 

ujyaloonline.com bata