नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र राष्ट्र बैंकले व्यवसायिक गतिविधि चलायमान हुने नीतिगत व्यवस्था गरे अर्थतन्त्रमा सुधार आउने बताएका छन् ।
शुक्रवार नेकपा कम्युनिष्ट समाजवादी पार्टीको अर्थविभागले आयोजना गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ढकालले बिग्रँदो अर्थतन्त्रलाई सुधार्न सरकारले व्यवसाय चलायमान बनाउने नीतिगत व्यवस्था गर्नुपर्ने बताएका हुन् । उनले सरकारले व्यवसायीहरुले माग गरे अनुसार आवश्यक नीतिगत व्यवस्था गरे अर्थतन्त्र सुधार हुन धेरै समय नलाग्ने दाबी समेत गरे ।
वरिष्ठ उपाध्यक्ष ढकालले बैंकको ब्याजदर घटाउन सरकार र राष्ट्र बैंकले दिनसक्ने सहुलियत दिए घट्नसक्ने बताए । उनले बैंक तथा वित्तीय संस्थाहरुले मुलुकमा उत्पन्न भएको अर्थतन्त्र संकटमा गएको अवस्थामा न्युनतम नाफा लिएर काम गर्नसके केही सहजता आउन सक्ने बताए ।