नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले कोशी प्रदेश सरकार टिकाएरै छाड्ने बताएका छन् । शुक्रबार झापामा सञ्चालन भइरहेको ‘मिसन ग्रासरुट’ अभियान तथा दमकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कोशी प्रदेशमा एमालेसँग ४० र राप्रपासँग ६ सीट भएकाले थप एक सिट खोजेर सरकारलाई टिकाएरै छाड्ने दाबी गरेका हुन् ।

प्रदेश सरकार टिकाउन राप्रपाले सहयोग गर्ने पनि उनले दाबी गरे । उनले एमालेलाई एक्लाउनका लागि बाह्य शक्तिले १० दलीय गठबन्धन बनाएको आरोप समेत लगाए ।

अध्यक्ष ओलीले अहिले पार्टीले चलाएको अभियानले आन्तरिक पार्टी जीवनको अन्तरविरोधहरुको समाधान गर्दै एमालेलाई देशको सबैभन्दा बलियो, जनाधारयुक्त र अनुशासित राजनीतिक शक्तिका रुपमा स्थापित गराउने दाबी समेत गरे । उनले समाजमा अस्थिरता निम्त्याउन चाहनेहरुले कोशी प्रदेश नामाकरणको विरोध गरेको आरोप समेत लगाए ।