झापाको बितामोड २ स्थित चारपानेमा मसख्य कार्यालय रहेको सहारा नेपाल साकोसले आफ्नो २८ औँ स्थापना दिवसको अवसर पारेर हाफ म्याराथन प्रतियोगिता गर्ने जनाएको छ ।
यही चैत २१ गते मुख्य कार्यालयमा स्थापना दिवसको अवसरमा २१ दशमलव ०९ किलोमिटर दूरीको खुला हाफ म्याराथन गर्न लागिएको संस्थाको सभाहलमा आज शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
झापा जिल्ला खेलकुद विकास समितिको समन्वयमा संस्थाको अतिरिक्त क्रियाकलाप उप–समितिले म्याराथन प्रतियोगिता आयोजना गरेको संस्थाका निर्देशक लक्ष्मण खतिवडाले जानकारी दिए ।
आर्थिक, शैक्षिक, स्वास्थ्यसँगै खेलकुदलाई पनि प्रोत्साहन गर्ने उद्देश्यले संस्थाले म्याराथन आयोजना गर्न लागेको उनले बताए ।
प्रतियोगितामा महिला र पुरुषको अलगअलग विधा हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई नगद ५१ हजार, दोस्रोलाई नगद ३१ हजार र तेस्रो हुनेलाई नगद २१ हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ ।
त्यस्तै, चौथोदेखि दशौँसम्म हुनेलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगितामा १८ वर्षभन्दा माथिका खेलाडीहरुले सहभागिता जनाउन पाउने झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा संयोजक प्रशान्त भण्डारीले जानकारी दिए ।
संस्थाको मुख्य कार्यालयबाट सुरु भएको प्रतियोगिता चारपानेचोक–प्रभुचोक–सांगवेद स्कुल–ओमचोक–कुशलचोक–अर्जुनधाराधाम–वरपीपलचोक–मिलडाँडा–प्रगतिटोल–भाङबारी–तामाङचोक–रातेखाल–बिरिङ खोलाको कज्वे–पानीकल–लक्ष्मीपुर हुँदै सहारा साकोस शिक्षा सदनमा आएर टुंगिनेछ ।
त्यस्तै, चैत २१ गते नै संस्थाले नगद डिपोजिट मेसिनको पनि शुभारम्भ गर्ने संस्थाका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाले जानकारी दिए । त्यस्तै, ज्येष्ठ नागरिक स्वास्थ्य हेरचाह कार्यक्रमको शुभारम्भ पनि गरिने उनले बताए ।
यसैबीच, स्थापना दिवसको अवसरमा संस्थाको स्थापनाकालदेखि हालसम्म भएका प्रगति तथा अन्य जानकारीमुलक सन्देश भएका फोटोहरुको प्रदर्शनी समेत राखिने जनाइएको छ ।
नेपालकै सबैभन्दा ठुलो, उत्कृष्ट र नमुना सहकारीको रुपमा पहिचान बनाएको संस्थामा हाल ८० वटा सेवा केन्द्रमा एक लाख ६० हजार ६३४ जना शेयर सदस्यहरु छन् ।
संस्थाको शेयर पुँजी १ अर्ब ६४ करोड २३ लाख, जगेडा कोष १ अर्ब ११ करोड २१ लाख, अन्य कोष ४४ करोड ७१ लाख, बचत १० अर्ब ६६ करोड ७ लाख, लगानीमा रहिरहेको ऋण १२ अर्ब, भौतिक सम्पत्ती ५१ करोड ७० लाख र बाह्य ऋण १ अर्ब ५ करोड रहेको छ ।