सन्तोष न्यौपाने ÷झापा 

पछिल्लो समय अलैंचीको उत्पादनसँगै निर्यात पनि बढ्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी अलैंचीको माग बढ्दै गएकाले पूर्वीनाका काँकडभिट्टाबाट निर्यातमा पनि वृद्धि भएको हो ।

पछिल्लो समय अलैंचीको उत्पादनसँगै निर्यात पनि बढ्दै गएको हो । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी अलैंचीको माग बढ्दै गएकाले गत बर्ष भन्दा यो चालु आर्थिक बर्षमा पूर्वीनाका काँकडभिट्टा स्थित मेची भन्सार हुंदै अलैंचीको निर्यातमा वृद्धि भएको मेची भन्सार प्रमुख रामप्रसाद पाठकले बताए । 

गत अर्थिक वर्ष २०७८÷०७९ मा ४ अर्ब ७६ करोड ४३ लाख ८६ हजार रुपैयाँको ५३ लाख किलो अलैंची निर्यात भएको थियो । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा ५ अर्ब ८४ करोड ४६ लाख ७२ हजार रुपैयाँ बराबरको ७२ लाख २१ हजार ३ सय ७४ केजी निर्यात भएको नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले जानकारी दिए । 

महासंघका अनुसार देशको ५३ जिल्लामा अलैंची खेती सुरु भएको छ । जस मध्ये ४३ जिल्लामा व्यवसायी रुपमा गरिएको खेतीबाट उत्पादन भइरहेको अवस्था छ । देशभर १८ हजार ६ सय हेक्टरमा अलैंची खेती हुँदै आएको नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष भट्टराई बताउंछन् ।

नेपालमा अलैंचीको कुल उत्पादन वार्षिक रुपमा साढे ५ हजार मेट्रिक टन रहेको छ । जसमा ६० प्रतिशत अलैंची कोशी प्रदेशमा मात्रै उत्पादन हुने गरेको महासंघले जनाएको छ ।