सन्तोष न्यौपाने झापा
मेची भन्सारले चालु आर्थिक बर्षको ८ महिनामा लक्ष्य भन्दा झण्डै ३० प्रतिशत कम राजश्व संकलन गरेको छ । राजस्व संकलनको यहि अवस्था रहे बार्षिक लक्ष्य पुरा गर्न धौ धौ पर्ने निश्चित छ ।
पुर्वी सीमा स्थित मेची भन्सारले चालु आर्थिक बर्षको ८ महिनामा लक्ष्य भन्दा झण्डै ३० प्रतिशत कम राजश्व संकलन गरेको छ । भन्सार विभागले फागुन मसान्तसम्म मेची भन्सारलाई १३ अर्ब ४ करोड ८१ लख उन्नासय हजार राजश्व असुलीको लक्ष्य दिएको थियो । तर मेचीले सो अवधीमा लक्ष्य भन्दा झण्डै ४ अर्ब कम राजश्व संकलन गरेको भन्सार प्रमुख रामप्रसाद पाठक बताउंछन् ।
कार्यालयले फागुन मसान्तसम्म ९ अर्ब १९ करोड ६७ लाख ९४ हजार राजश्व संकलन गरेको हो । जुन लक्ष्यको ७० दशमलब ४८ प्रतिशत हो । चालु आर्थिक बर्षकालागि बिभागले मेचीलाई २० अर्ब २४ करोड १८ लाख ८ हजार लक्ष्य तोकेको छ । तर आर्थिक बर्षको ८ महिनामा तोकिएको लक्ष्यभन्दा झण्डै ४ अर्ब कम राजश्व संकलन भएपछि बार्षिक लक्ष्य पुरा नहुने संकेत देखिएको छ ।
गत आर्थिक बर्ष २०७८÷०७९ को फागुन मसान्तसम्म १९ अर्ब ११ करोड ५० लाख ७५ हजार संकलन भएको थियो । जुन आर्थिक बर्ष ८ महिनाको फागुन अवधिको भन्दा ३७ प्रतिशत बढी हो ।
यो नाका हुंदै हुने आयातमा आएको कमी तथा राजश्वको मुख्य हिस्सा ओगटेको पेट्रालियम पदार्थको आयात कमी भएसंगै अघिल्लो बर्षको तुलनामा यो बर्ष लक्ष्य बढी तोकीएकाले पनि ८ महिनामा लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेको भन्सार अधिकारी बताउंछन् ।