बिर्तामोड :  वडा खेलकुद विकास समिति बिर्तामोड २ ले खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । साविक चारपाने गाविसको २ नम्बर वडादेखि ९ नम्बरसम्मलाई समेटेर बिर्तामोडमा खेलकुद प्रतियोगिता आयोजना हुने भएको हो ।

लोकप्रीय खेल फुटबल, क्रिकेट र भलिबल खेल प्रतियोगितामा समावेश गरिएका छन् । महोत्सबको झल्को दिने गरी प्रतियोगिता आयोजना गर्न लागिएको खेलकुद बिकास समिति अध्यक्ष कमला लिम्बुले जानकारी दिइन् ।

तीनवटै प्रतियोगिताको बिजेता र उपबिजेताले जनही १५ हजार र १० हजार रुपैंयाँ पुरस्कार पाउने आयोजक समितिका सचिव पंकज सिग्देलले जानकारी दिए । उनले प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार १ सय रुपैंयाँ पुरस्कार दिने योजना रहेको बताए ।
प्रतियोगितामा सहभागि हुन अनिवार्य रुपमा बिर्तामोड नगरपालिका–२ मा बसोबास भएको कागजपत्र पेश गर्नुपर्ने छ ।

प्रत्येक टिमले १५ जना खेलाडी, कोच र टिम मेनेजरसहितको नामावली बुझाउन पनि खेलकुद बिकास समितिले अनुरोध गरेको छ । प्रतियोगिता सम्पन्न गर्न २ लाख ५० हजार रुपैंयाँको बजेट अनुमान गरिएको आयोजकले जनाएको छ ।