बिर्तामोड ः  झापासहित देशभर बैंकको ऋणका कारण व्यवसायीले आत्महत्या गरेका घटना सार्वजनिक हुन थालेको छ । आर्थिक संकटका कारण व्यापार व्यवसायमा ठूलो नोक्सानी बेहोर्नुका साथै बैंक तथा वित्तीय क्षेत्रबाट लिएको ऋणको चपेटा परको भन्दै आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको हो ।

यस्ता घटना पछिल्ला केही दिनयता झापामा पनि भइरहेका छन् । यही सन्दर्भमा स्वतन्त्र नागरिक समूहले व्यवसायमा एकपछि अर्को असफलता र ऋणको चपेटाको कारण देखाउँदै आत्मदाहको घटना बढेको प्रति चिन्ता तथा दुःख व्यक्त गरेको छ ।

स्वतन्त्र नागरिक समूह संयोजक शेरबहादुर थापाले एक विज्ञप्ति जारी गर्दै बैंकको दबाब थाम्न नसकेर आत्महत्या गरेको घटनाहरुप्रति चासो व्यक्त गरेका छन् । मुलुकभित्रै रोजगारीको सिर्जना र निर्यात प्रवर्धनमा योगदान गरिरहेका उद्योगी, व्यापारी र व्यवसायीलाई यस्तो विषय परिस्थितिमा राज्यले पनि सहयोग गर्नुपर्ने थापाको भनाइ छ ।

कोरोना कहरका कारण विश्वको आर्थिक अवस्था धर्मराई रहेको र पछिल्लो अवस्था नेपालमा देखा परेको आर्थिक मन्दीका कारण संयोजक थापाले धेरै व्यवसाय धरासायी बन्न पुगेको अवस्थामा उद्योगी–व्यापारी तथा सर्बसाधारण मारमा परेको विज्ञप्तिमा उल्लेख गर्दै यस्तो अवस्थामा बैंकले बुझ्न आवश्यक रहेको औंल्याइएको छ ।

देशको वर्तमान आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकारी, निजी, सहकारी, बैंकसहित सबै क्षेत्रले हातेमालो गर्न जरुरी रहेको भन्दै संयोजक थापाले यस्तो विषम परिस्थितिमा बैंकले ऋणीहरुको अवस्थालाई बुझ्न आवश्यक बताए ।

“बैंक तथा वित्तीय क्षेत्रबाट लिएको ऋण व्यवसायीले क्रमशः तिर्नुपर्छ भन्नेमा हामी सकारात्मक छौं”, विज्ञप्तिमा भनिएको छ, “तर, ऋणको बहानामा मानसिक तनाव दिनु दण्डनीय विषय हो ।”

 बैंक तथा वित्तीय क्षेत्र सेवाग्राहीलाई अप्ठ्यारो पर्दा सहयोग गर्नुको सट्टा झन् समस्यामा पार्ने काम भइरहेकाले यसो नगर्न हुन बैंक तथा वित्तीय संस्थालाई थापाले बिज्ञप्ति मार्फत उल्लेख गरेका छन् । “बैंक हाम्रो साथी हो, बैंकबाट लिएको ऋणको कर्जा हुनेले तिर्दै गर्नुहोस्, नहुनेलाई समय दिऔं”, थापाले भने । बैंकबाट हुने लिलामी प्रक्रिया तुरुन्त रोक्नु पर्ने माग गर्दै व्यवसायीहरु झुण्डिने अवस्था आयो भने आफूहरु चुप लागेर नबस्ने विज्ञप्ति मार्फत चेतावनी दिइएको छ ।