एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । आज त्रिवि मैदानमा भएको खेलमा नेपालले ओमानलाई ८४ रनले पराजित गरेको हो । नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमान ४६ दशमलव ३ ओभरमा अलआउट हुँदै २ सय २६ रनमा समेटियो ।

ओमानका लागि मोहम्मद नदीमले सर्वाधिक ६५, सन्दीप गौडले ४६, जतिन्दर सिंहले १५, आदिल शफिकले १३, कश्याप प्रजापतिले २५, आयन खानले २९ र फैयज बटले १९ रन बनाए । नेपालका लागि सन्दीप लामिछाने र करण केसीले ३–३, दीपेन्द्रसिंह ऐरीले २ र ललित राजवंशीले एक विकेट लिए ।

त्यसअघि पहिले टस हारेर ब्याटिङ गरेको नेपालले पूरै ओभर खेल्दै आठ विकेटको क्षतिमा ३ सय १० रन बनाएको थियो । नेपालका लागि अलराउन्डर कुशल मल्लले ६४ बलमा ९ चौका र १० छक्काको सहयोगमा १ सय ८ रनको शतकीय ईनिङ खेले । उनले ५९ बलमा शतक पूरा गरेका हुन् । त्यसैगरी, कप्तान रोहित पौडेलले २३, भिम सार्कीले ३३, आरिफ शेखले २९, सोमपाल कामीले ६३ रनको अविजित अर्धशतकीय ईनिङ खेले । करण केसीले अविजित २९ रन बनाए ।

ओमानका लागि आयान खानले २ तथा बिलाल खान, कलिमुल्लाह खान, जिशान मकशुद, फायाज बट र जतिन्दर सिंहले समान १÷१ विकेट लिए । जितसँगै दुई खेलमा चार अंक जोडेको नेपाल समूह एको शीर्ष स्थानमा रहेको छ ।