पाँचथर — प्रदेश १ लाई कोशी नामकरण गरिएको भन्दै विरोधमा रहेका पहिचान पक्षधरहरुले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै कालो झन्डा देखाएका छन् । 

एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङसहित ओली जन्मघर तेह्रथुमको आठराई गाउँपालिका(४ पुग्दा आन्दोलनरत पक्षले कालो झन्डा देखाएका हुन् । शुक्रबार मध्याह्न जन्मथलोमा निर्मित बहुप्राविधिक शिक्षालय उद्घाटन गर्न पुगेका ओलीविरुद्ध पहिचान पक्षधरहरुले नाराबाजी गर्दै अवरोध सिर्जना गर्न खोजेका थिए । विरोधका बाबजुत ओलीले सुरक्षा घेराभित्रबाटै प्राविधिक शिक्षालयको भवन उद्घाटन र आठराइ गाउँपालिकामा सञ्चालन हुन लागेको तमोर लिफ्ट खानेपानी आयोजना शिलान्यास गरे ।

ओली खानेपानी आयोजना शिलान्यासस्थल आइपुग्नुअगावै कालो झन्डा देखाउँदै नाराबाजी गरिरहेका पहिचान पक्षधरविरुद्ध एमाले कार्यकर्ताले नारा लगाउन थालेपछि व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो ।

विरोधसभाको नेतृत्व गरिरहेका संघीय लोकतान्त्रिक मञ्चका अध्यक्ष कुमार लिङ्देनले एमाले, कांग्रेस र माओवादीले जबरजस्त कोशी नाम राखेर पहिचान पक्षधरलाई उपेक्षा गरेकाले आन्दोलमा उत्रिएको बताए । पहिचानवादीले ओलीसँगै रहेका एमाले उपाध्यक्ष नेम्वाङ विरुद्ध पनि नारा लगाएका थिए । ekantipur.com