बिर्तामोड : नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित चार जनालाई झापाको बिर्तामोडमा सम्मान गरिएको छ ।

नेपाल अलैंची व्यवसायी महासंघको आयोजनामा आज शुक्रबार बिर्तामोडमा आयोजित कार्यक्रममा महासंघसँगै, नेपाल कुचो संघ, नेपाल सुपारी उत्पादक तथा निर्यात व्यवसायी संघ र  नेपाल भेनियर उत्पादक संघले उनीहरुलाई सम्मान गरिएको हो ।

नेपाल उद्योग बाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनमा केन्द्रीय सदस्य पदमा  राजकुमार कार्की, दीपक नेपाल, नरेन्द्र खड्का  र उमेश डालमिया निर्वाचित भएका थिए ।  वस्तुगत संघसंस्थाको तर्फबाट संयुक्त रुपमा समर्थन गरिएको उम्मेदवारहरु विजय भएपछि उनीहरुलाई सम्मान गरिएको नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष निर्मल भट्टराईले जानकारी दिए । 

अलैंची व्यवसायी महासंघका उपाध्यक्ष सुवास भट्टराईले स्वागत मन्तव्य राख्दै  व्यावसायिक क्षेत्र मात्र नभई सामाजिक क्षेत्रमा समेत क्रियाशील र परिचित व्यक्तित्वहरु निर्वाचित भएको बताए । उनले सबै उद्योगी–व्यवसायीको पक्षमा उभिएर काम गर्न निर्वाचितहरुलाई आग्रह गरे । 

कार्यक्रमको औचित्यबारे प्रकाश पार्नुहुँदै नेपाल भेनियर उत्पादक संघका अध्यक्ष दीपक पाण्डेले वस्तुगत संघहरुको समस्या मिल्दाजुल्दा भएकाले नेतृत्वमा पुगेर ती समस्या समाधान गर्न नवनिर्वाचतहरु लाग्नुपर्नेमा जोड दिए ।  उनले  वस्तुगत संघहरुसँग हातेमालो गर्दै वस्तुगत व्यवसायीको समस्या समाधानमा पहल हुने विश्वास व्यक्त गरे । 

कार्यक्रममा अलैंची व्यवसायी महासंघका संस्थापक अध्यक्ष राजेन्द्र घिमिरेले व्यवसायीको पहिचान राजनीतिक रंगबाट नभई व्यवसायबाट हुनुपर्नेमा जोड दिएका थिए । उनले खुला रुपमा व्यवसाय र डररहित लगानी गर्नुपर्ने वातावरण निर्माण हुनुपर्ने धारणा राखेका थिए । 

त्यस्तै, नेपाल सुपारी उत्पादक तथा निर्यात व्यवसायी संघका अध्यक्ष देवीप्रसाद खतिवडाले निजी क्षेत्र दोस्रो सरकारको रुपमा उपस्थित भए पनि राजनीतिक अस्थिरता भएसम्म व्यवसाय सुरक्षित नहुने धारणा राखे । 

अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव नारायण चिमरियाले गरेका थिए ।