बिर्तामोड M नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसिएसन नेल्टा झापाले शैक्षिक गुणस्तर तथा प्रधानाध्यापकहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले तालिमको आयोजना गरेको छ ।
नेल्टा झापाले आज शुक्रबारबाट बिर्तामोडमा तीन दिने नेतृत्व बिकास तथा बिद्यालय व्यवस्थापन तालिमको सुरुवात गरेको हो ।
तालिमको उद्घाटन एक कार्यक्रमकाबिच प्रमुख अतिथि बिर्तामोड नगरपालिका प्रमुख पबित्रा महतरा प्रसाईले गरेकी छन् ।
विद्यालयमा समग्र शैक्षिक गुणस्तर अभिवृद्धि गर्न बालबालिकाहरुमा समय सापेक्ष शैक्षिक गतिविधि र शिक्षण सञ्चालन गर्न प्रधानाध्यापकहरुको महत्वपूर्ण भूमिका रहने भएकाले तालिमको आयोजना गरिएको नेल्टा झापा अध्यक्ष तथा केन्द्रिय सदस्य धमेन्द्र भट्टराईले जानकारी दिए ।
उनले कार्यक्रमको औचित्माथि प्रकाश पार्दै तालिममा त्रिभुवन विश्वविद्यालयका एसोसिएट प्राध्यापक डा.शिवराम पाण्डे र त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा नेल्टा केन्द्रीय अध्यक्ष मोतीकला सुब्बा देवानले सहजिकरण गरिरहेको पनि उनले बताए ।
नेल्टा झापाका अध्यक्ष भट्टराईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रसाई, मेचीनगरका नगर शिक्षा प्रमुख होमनाथ भण्डारी, बिर्तामोड नगर शिक्षा अधिकृत जानुका रेग्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उद्धघाटन कार्यक्रममा स्वागत सचिव टीकाप्रसाद सुवेदी र सञ्चालन सह–सचिव केशव उप्रेतीले गरेका थिए ।
तालिममा झापा जिल्लाका करिब ४० जना प्रधानाध्यापक तथा प्रिन्सिपलहरूको सहभागी रहेको आयोजक नेल्टा झापाले जनाएको छ ।
नेल्टा झापा यस बर्षको उत्कृष्ट शाखा घोषित भएर पाएको पुरस्कार राशीबाट तालिमको आयोजना गरेको जनाइएको छ । तालिम २४ गतेसम्म सञ्चालन हुनेछ ।








































