बिर्तामोड : झापा बिर्तामोडमा यही जेठ ६ गतेदेखि प्रथम कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने भएको छ । बिर्तामोड नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिता आयोजनाबारे आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो ।
प्रतियोगितामा सहभागिताको लागि आज ९आइतबार० सम्म १७ वटा टिमले नाम दर्ता गराइसकेको प्रतियोगिता संयोजक विशाल अग्रवालले जानकारी दिए । प्रतियोगितामा बिर्तामोड नगरभित्रका व्यावसायिक तथा सामाजिक संस्था सहभागी हुन पाउने छन् ।
प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद पचास हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने समिति अध्यक्ष विकास गिरीले जानकारी दिए ।
त्यस्तै, खेलको म्यान अफ द टुर्नामेन्टलाई १० हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई ५१०० रुपैयाँ प्रदान गरिनेछ ।
प्रत्येक खेलको म्यान अफ द म्याचले २१०० रुपैयाँ पाउने छन् । प्रतियोगितामा हिट बोर्डको व्यवस्था गरी विभिन्न प्रकारको आकर्षक पुरस्कार राखिएको छ ।
अध्यक्ष गिरीका अनुसार प्रतियोगिताको फाइनल खेल साँझमा खेलाइनेछ । त्यसका लागि फ्लर्ड लाइटलगायतका आवश्यक व्यवस्थापन मिलाइएको समिति सचिव बिसन लिम्बूले बताए ।
फुटबल प्रशिक्षक र खेलाडीलाई सम्मान
प्रतियोगिताको अवसरमा राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक प्रवेश कटुवाल, राष्ट्रिय फुटबल खेलाडी निशान खड्का र अभिषेक बराललाई सम्मान गरिने भएको छ । कटुवाल बिर्तामोड १० का बासिन्दा हुन् भने खड्का र बराल बिर्तामोड ५ का हुन् ।
जेठ ७ गते हुने प्रतियोगिताको समापन समारोहमा चर्चित कुटुम्ब ब्यान्डको प्रस्तुति रहनेछ ।