जिल्ला प्रहरी परिस।र काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा ५९ दिनसम्म अनुसन्धान गरेर प्रतिवेदन बुझाएको छ । गत चैत्र १२ गते तीन जनालाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले ३३ जना विरुद्ध साढे २७ करोड बराबरको बिगो कायम गर्न माग गर्दै जिल्ला सरकारी वकील कार्यालयलाई रायसहितको प्रतिवेदन सोमबार बुझाएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीले ३३ जना विरुद्ध साढे २७ करोड बराबरको बिगो कायम गर्न माग गरेको छ ।

चैत्र १२ गते केशव दुलाल, सानु भण्डारी र टंक गुरुङलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले ५९ दिनसम्म अनुसन्धान गरेर जिल्ला सरकारी वकील कार्यालयलाई रायसहितको प्रतिवेदन बुझाएको हो ।

१ सय १३ जनाले दिएको २३ वटा जाहेरीको आधारमा यो रकम बराबरको बिगो कायम गरिएको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । ३३ मध्ये १६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने बाँकी १७ जना अहिले फरार छन् । फरार रहेका १७ जनाको पनि खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।

प्रहरीबाट रायसहितको अध्ययन प्रतिवेदन आएसँगै जिल्ला सरकारी वकील कार्यालयले मुद्दा दर्ता गराउने तयारी थालेको छ । कुन कुन कसुरमा र कति बिगो माग गर्ने भन्ने अध्ययनको क्रममा रहेको जिल्ला सरकारी वकील कार्यालयले जनाएको छ ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डेसहितलाई राज्य विरुद्धको, ठगी र संगठित अपराध गरी तीन खालका मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ ।